हिमाल, सूर्यास्त र चलचित्रको क्रेजले गुल्जार बन्दै पाँचथरको चारराते
पाँचथर, ६ मङ्सिर । नेपाल–भारत सीमावर्ती क्षेत्र पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ । मनोरम प्राकृतिक छटा, हिमशृङ्खलाको नजिकको दृश्यावलोकन र चौँरी गोठको अनुभव सँगाल्न यहाँ दैनिक सयौँको सङ्ख्यामा पर्यटकको घुइँचो लाग्न थालेको हो ।
फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष शिल्प साम्पाङ राईका अनुसार हाल फालेलुङको बाटो हुँदै दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक चारराते पुग्ने गरेका छन् । विशेषगरी यहाँबाट देखिने मनमोहक सूर्यास्त र नेपाल, भारत (सिक्किम) तथा भुटानका हिमालहरूको स्पष्ट दृश्यले पर्यटकलाई लोभ्याएको छ । “पूर्वका धेरै स्थानबाट सूर्योदय हेरिन्छ, तर चाररातेबाट देखिने सूर्यास्तको दृश्य असाध्यै अद्भुत छ,” पर्यटन व्यवसायी राईले भन्नुभयो ।
डिजिटल प्रचार र चलचित्र छायाङ्कनको प्रभाव पछिल्लो समय सामाजिक सञ्जाल (टिकटक, फेसबुक, युट्युब) मा भाइरल बनेका सामग्री र चलचित्र छायाङ्कनले चाररातेको प्रचारमा ठूलो टेवा पुर्याएको छ । घरबास (होमस्टे) सञ्चालक डिल्लीहाङ केरुङका अनुसार नयाँ वर्षमा आयोजना हुने ‘चौँरी महोत्सव’, चर्चित चलचित्र ‘उनको स्वीटर’ को छायाङ्कन र हालै मात्र विपीन कार्की, मिरुना मगरलगायत कलाकारसहित ‘कलेजी उनको स्वीटर–२’ को छायाङ्कन भएपछि पर्यटकको आकर्षण झनै चुलिएको हो ।
समुद्र सतहदेखि तीन हजार ५०० मिटरको उचाइमा रहेको यस क्षेत्रबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाललाई मोबाइल र क्यामेरामा निकै नजिकबाट कैद गर्न सकिन्छ । साथै, चाररातेसँगै रहेको नेपालको झन्डा आकारको ‘झन्डा पोखरी’, जलजले पोखरी, भैँसेपोखरी र फराकिला पाटनमा फुलेका बुकी फूलहरूले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।
पहुँच र सिजनको अनुकूलता पाँचथर सदरमुकाम फिदिमबाट प्राङबुङ हुँदै र इलामको सन्दकपुरबाट समेत दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमार्फत सहजै पुग्न सकिने भएपछि पर्यटकको सङ्ख्या ह्वात्तै बढेको हो । यसपटक दसैँ–तिहारको लामो बिदा परेको र कात्तिक–मङ्सिर महिना घुमफिरका लागि उत्तम मौसम भएकाले पनि आन्तरिक पर्यटकको चाप उल्लेखनीय देखिएको स्थानीयवासी बताउँछन् ।
अर्थतन्त्रको आशासँगै व्यवस्थापनको चुनौती भारतीय बाटो हुँदै आउने पर्यटकमध्ये आधालाई मात्र नेपालतर्फको मार्ग प्रयोग गराउन सके पाँचथरको पर्यटनमा आधारित अर्थतन्त्रले ठूलो फड्को मार्ने व्यवसायी राईको विश्वास छ । यद्यपि, पर्यटकको सङ्ख्यामा भएको अप्रत्याशित वृद्धिसँगै व्यवस्थापनमा भने चुनौती थपिएको छ ।
सीमित घरबास र गोठबासका कारण बास बस्न समस्या हुने, खानेपानी र विद्युत्को नियमितता नहुने तथा वर्षा हुनासाथ सडक जोखिमपूर्ण बन्ने समस्या रहेको राईले औँल्याउनुभयो । “अहिले आएका पाहुनालाई राम्रो सुविधा दिन नसक्दा नकारात्मक सन्देश जाने जोखिम छ,” उहाँले भन्नुभयो, “बढ्दो सवारी चाप र फोहरमैला व्यवस्थापन गर्दै दीर्घकालीन रूपमा पर्यटक भित्र्याउन पूर्वाधार विकासमा तत्काल ध्यान दिनु आवश्यक छ ।”
