ट्राफिक सचेतनाको डिजिटल पहुँच दुई करोडभन्दा बढी नागरिकसम्म

काठमाडौं, १३ कात्तिक । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनासम्बन्धी जनचेतना अभिवृद्धि गर्न डिजिटल प्लेटफर्मको प्रयोगलाई तीव्रता दिएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको असारदेखि कात्तिक १२ गतेसम्म सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका सचेतनामूलक सामग्री दुई करोड चार लाख १५ हजार ५७१ जनासम्म पुगेका छन्।

ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले डिजिटल माध्यमबाट कम खर्चमा छोटो समयमै धेरै नागरिकसम्म सडक सुरक्षासम्बन्धी सन्देश पुर्‍याउन सहज भएको बताउनुभयो।

कार्यालयले सामाजिक सञ्जालमार्फत ट्राफिक नियम, सुरक्षित यात्रा, सडक अनुशासन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सामग्री नियमित रूपमा सार्वजनिक गर्दै आएको छ।

तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक सङ्केत उल्लङ्घन गर्नेजस्ता गतिविधि दुर्घटनाका प्रमुख जोखिम रहेकाले जनचेतनामूलक अभियानलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ।

डिजिटल माध्यमको प्रयोगले ट्राफिक प्रहरी र सर्वसाधारणबीच सूचना आदानप्रदान सहज बनाउनुका साथै सडक सुरक्षा अभियानलाई व्यापक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *