धान फल्ने खेतमा सयपत्री फूलखेती, एक वर्षमै पाँच–सात वर्षको आम्दानीको आशा
भद्रपुर (झापा), १५ कात्तिक । धानका बाला झुल्ने खेतमा यतिबेला सयपत्री फूल ढकमक्क फुलेका छन्। वर्षभरिमा धानबाट करिब ५० हजार रुपैयाँ उत्पादन हुने जमिनमा फूलखेती गरेर १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन्।
विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले ‘कृषि कम्पास’ समूह गठन गरी सामूहिक रूपमा १० कट्ठा जमिनमा सयपत्री खेती गरेका हुन्। परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि उनीहरूको यो प्रयास नयाँ सम्भावना बनेको छ।
समूहले उक्त जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको थियो। फूलखेतीमा साढे पाँच लाख रुपैयाँ लगानी गरेका उनीहरूले करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन्। मालाबाट कम्तीमा १० देखि १२ लाख रुपैयाँ आम्दानी हुने उनीहरूको अनुमान छ। हाल फूल टिपेर माला उन्ने र तयार मालालाई कोल्डस्टोरमा भण्डारण गर्ने काम भइरहेको छ।
समूहका सदस्य न्यौपानेका अनुसार सोही जमिनमा धान लगाउँदा करिब ३० मन उत्पादन हुन्थ्यो, जसको हालको बजार मूल्य करिब ५० हजार रुपैयाँमात्र पर्छ। धानभन्दा फूलखेतीबाट कैयौँ गुणा बढी आम्दानी हुने देखिएपछि उनीहरूले यो विकल्प रोजेका हुन्।
“यही जग्गामा धान रोपेको भए जम्माजम्मी ३० मन उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य करिब ५० हजारमात्रै हो। पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ,” न्यौपानेले भने।
फूलखेतीको बजार सम्भावना पनि राम्रो रहेको उनको भनाइ छ। एउटा मालाको मूल्य १०० देखि १५० रुपैयाँसम्म पर्ने भएकाले उत्पादन बिक्री गर्न सके अपेक्षित आम्दानी लिन सकिने उनले विश्वास व्यक्त गरे।
यस वर्षको अनुभव र बजारको मागले उत्साहित बनेको समूहले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको छ। समूहका अर्का सदस्य रिजालका अनुसार आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने तयारी भइरहेको छ।
यद्यपि, आम्दानीको सम्भावनासँगै चुनौती पनि उत्तिकै छन्। फूल टिपेपछि लामो समयसम्म सुरक्षित राख्नुपर्ने र बजारसम्म पुर्याउनुपर्ने समस्या किसानसामु छ। विशेषगरी भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी खेर जाने चिन्ता उनीहरूले व्यक्त गर्दै आएका छन्।
यसै विषयमा जिल्लाका व्यावसायिक फूल किसानको एक समूहले मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको थियो। किसानले स्वदेशी सयपत्रीलाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिन र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्न माग गरेका थिए।
किसानको माग र जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुगे। उनले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेटेर उत्पादन र बजारको स्थलगत जानकारी लिए।
सो अवसरमा उनले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताए। “तपाईँहरूले सामूहिक रूपमा गर्नुभएको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ। प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ,” पोखरेलले भने, “झापामा फूलको ठूलो माग हुने भएकाले स्थानीय उत्पादनले बजारको माग धान्दैन कि भन्ने चिन्ता हो। पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ।”
स्थानीय तथा ‘सुन्दर शान्त नेपाल’ का अभियानकर्मी मनिष दाहालका अनुसार जिल्लामा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको उनले जानकारी दिए। किसानको आकर्षण र खेती विस्तारको क्रम हेर्दा झापा फूल उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।
