किसान सङ्गठित भएपछि दाङमा अण्डा उत्पादन बढ्यो, दैनिक साढे दुई हजार कार्टुनभन्दा बढी

दाङ, १९ कात्तिक । किसान सङ्गठित भएर बजारीकरणमा जुटेपछि दाङमा अण्डा उत्पादन बढ्दै गएको छ । कुनै समय दैनिक पाँचदेखि छ हजार कार्टुन अण्डा उत्पादन हुने जिल्लामा बजारीकरणको अभावले उत्पादन घटेर एक हजार कार्टुनमा सीमित भएको थियो । अहिले उत्पादन बढेर दैनिक दुई हजार ५०० कार्टुनभन्दा बढी पुगेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष ईश्वरप्रकाश श्रेष्ठले किसान सङ्गठित भएर उत्पादनको बजारीकरण गर्न थालेपछि उत्पादन बढ्न थालेको बताउनुभयो । उहाँका अनुसार एउटा कार्टुनमा २१० वटा अण्डा हुन्छन् ।

जिल्लामा लेयर्स कुखुराको सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । सङ्घका सचिव रविन्द्रविक्रम केसीका अनुसार सङ्घमा १५० भन्दा बढी किसान आबद्ध छन् भने हरेक वर्ष ४५ भन्दा बढी नयाँ किसान थपिने गरेका छन् ।

दाङमा उत्पादित अण्डामध्ये करिब २० प्रतिशत अर्थात् दैनिक ५०० कार्टुन जिल्लामै खपत हुन्छ । बाँकी ८० प्रतिशत अर्थात् दुई हजार कार्टुन अन्य जिल्लाका बजारमा पठाइने गरिएको छ ।

अण्डाको बजारीकरण व्यवस्थित गर्न नेपाल लेयर्स कुखुरापालक सङ्घ र नेपाल एग ट्रेडिङ प्रालिको सहकार्यमा तुलसीपुरमा डिपो सञ्चालन गरिएको छ । जिल्लामा खपत हुन नसकेको अण्डा डिपोमार्फत देशका विभिन्न बजारमा पठाउने व्यवस्था मिलाइएको छ ।

एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्ने भए पनि किसानले सोभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले एकद्वार प्रणालीबाट बजारीकरण गर्न डिपो सञ्चालन गरिएको सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *