नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर, सवारीको वर्गअनुसार फरक शुल्क

काठमाडौं, कात्तिक १५।  नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि दस्तुर संकलन सुरु भएको छ। सुरुङमार्गमा आवतजावत गर्ने सवारीसाधनले आफ्नो वर्ग र यात्राको दिशाअनुसार तोकिएको शुल्क बुझाउनुपर्ने व्यवस्था लागू गरिएको हो।

नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित दर र सडक बोर्ड नेपालको निर्णयका आधारमा सडक उपभोग दस्तुर संकलन थालिएको हो। काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीसाधनका लागि छुट्टाछुट्टै दर तोकिएको छ।

कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मिनीबस, मिनीट्रक, बस र अन्य ट्रकका लागि भने छुट्टै वर्गअनुसार दस्तुर लाग्नेछ।

नगद र क्यूआरबाट भुक्तानी

आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुवाती चरणमा नगद तथा क्यूआर प्रणालीमार्फत दस्तुर बुझाउन सकिनेछ। आगामी दिनमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन अर्थात् आरएफआईडी कार्ड र ट्यागमार्फत स्वचालित भुक्तानीको व्यवस्था गर्ने तयारी छ।

सेवा प्रदायकका कर्मचारीमार्फत संकलन हुने दस्तुर सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ। दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्।

२ हजार ६८८ मिटर लामो मुख्य सुरुङ

नागढुङ्गा सुरुङमार्गले काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित किसिपिडी क्षेत्र र धादिङको धुनीबेँसी नगरपालिकास्थित सिस्नेखोलालाई जोड्छ। आयोजनाअन्तर्गत दुई लेनको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ, आपत्कालीन निकास सुरुङ, दुवैतर्फका पहुँच सडक, आकस्मिक आवागमनका लागि जोड्ने मार्ग र फ्लाइओभरलगायत संरचना निर्माण गरिएका छन्।

सुरुङमा प्रकाश, हावा आवतजावत गराउने भेन्टिलेसन, आगलागी नियन्त्रण, सञ्चार तथा निगरानी प्रणालीसमेत समावेश छन्। यी संरचना र प्रणाली सुरुङभित्रको यातायात सञ्चालन तथा आपत्कालीन व्यवस्थापनलाई लक्षित गरी बनाइएका हुन्।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत उपलब्ध करिब २२ अर्ब ३३ करोड ६० लाख जापानी येनको सहुलियतपूर्ण ऋण सहयोगमा अघि बढाइएको आयोजनाको निर्माण सन् २०१९ नोभेम्बरमा सुरु भएको थियो।

यो सुरुङमार्ग नागढुङ्गा–नौबिसे सडकखण्डको उकालो, घुम्ती र जाम हुने क्षेत्रको विकल्पका रूपमा निर्माण गरिएको हो। यसबाट काठमाडौं उपत्यका र देशका अन्य प्रमुख क्षेत्रबीचको सडक सम्पर्क सहज हुनुका साथै यात्रा समय घट्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *