म्याग्दीको मङ्गलामा बाढीपहिरोबाट १६६ परिवार प्रभावित, १७ घर पूर्ण क्षति
म्याग्दी, १५ कात्तिक । बाढीपहिरोका कारण म्याग्दीको मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्। विपद्बबाट १७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा रहेका छन्।
गाउँपालिकाका अनुसार बाढीपहिरोले ५७२ रोपनी खेतबारीमा क्षति पुर्याएको छ। त्यस्तै, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने २० वटा सडकमा समेत क्षति पुगेको छ।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं. ५ को छिसवाङ, वडा नं. २ को भाइवाङ र वडा नं. ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ। प्रभावित परिवारलाई राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्था मिलाउनुका साथै क्षतिको विवरण सङ्कलन भइरहेको छ।
बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। गाउँपालिका–३ बरञ्जाका पहिरो प्रभावित गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटाले बस्ती संरक्षण तथा पहिरो नियन्त्रणमा स्थानीय सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। समयमै रोकथामका उपाय नअपनाए आगामी वर्षायाममा थप क्षति हुन सक्ने उनीहरूको भनाइ छ।
यसैगरी, छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ। सिँचाइ तथा खानेपानी आयोजनामा पुगेको क्षतिको विवरणसमेत सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ।
