बूढानीलकण्ठ मन्दिरमा पाँचदिने मेलामा लाखौँ भक्तजनको घुइँचो

काठमाडौं, ६ मङ्सिर । हरिबोधिनी एकादशीदेखि सुरु भएको बूढानीलकण्ठ नारायणस्थान मन्दिरको पाँचदिने धार्मिक मेलामा लाखौँ भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने मेलामा नेपाल तथा भारतका श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन् ।

धार्मिक विश्वासअनुसार यस अवधिमा बूढानीलकण्ठ नारायणको पूजा, आराधना र दर्शन गरे पुण्य प्राप्त हुनुका साथै मृत्युपछि वैकुण्ठमा बास हुने मान्यता छ ।

मन्दिरमा १२ फिट चौडाइ र २४ फिट लम्बाइको विशाल शिलामा भगवान् विष्णुको अद्वितीय मूर्ति रहेको छ । हरि र हर अर्थात् विष्णु र शिवको स्वरूप समेटिएको यस मूर्तिलाई विश्वमै विशेष मानिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर थापाले बताउनुभयो ।

मन्दिर शैव, वैष्णव, बौद्ध तथा किराँत धर्मावलम्बीका लागि समेत आस्थाको केन्द्र रहँदै आएको छ । धार्मिक मान्यताअनुसार पाँचदिने मेलामा बूढानीलकण्ठको दर्शन गरे उपत्यकाका चार नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुन्छ ।

यसै अवसरमा मङ्सिर २ देखि ८ गतेसम्म मन्दिर परिसरमा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञबाट सङ्कलित रकम बूढानीलकण्ठ गुरुकुल सञ्चालनमा खर्च गरिने समितिले जनाएको छ । विसं २०५७ देखि सञ्चालित गुरुकुलमा हाल ५० जना बटुकले वैदिक शिक्षा अध्ययन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *