गजुरमुखी धाममा भक्तजनको घुइँचो, धार्मिक मेलाको तयारी तीव्र
काठमाडौँ, मंसिर ६ । कात्तिक पूर्णिमाको अवसरमा लाग्ने परम्परागत धार्मिक मेलालाई लक्षित गर्दै इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा तीर्थालु भक्तजनको चहलपहल बढेको छ । देवीको दर्शन, पूजाआजा तथा भाकल बुझाउन नेपालका विभिन्न जिल्ला र भारतका विभिन्न स्थानबाट भक्तजन आउने क्रम बढेको हो ।
धामका पुजारी सन्तोष बस्नेतका अनुसार पछिल्लो समय दैनिक करिब ५०० भक्तजनले गजुरमुखी देवीको दर्शन गर्ने गरेका छन् । विशेषगरी शनिबार र मङ्गलबार भक्तजनको सङ्ख्या बढी हुने गरेको उहाँले बताउनुभयो ।
विगत दुई महिनादेखि नेपालको पूर्वी क्षेत्रका साथै भारतको सिक्किम, दार्जिलिङ, मिरिक, खर्साङ, आसाम र कालेङबुङलगायत स्थानबाट समेत दैनिक सयौँको सङ्ख्यामा भक्तजन धाम पुग्ने गरेका छन् । गजुरमुखी देवीको दर्शन तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण यहाँ भक्तजनको आकर्षण बढेको हो ।
धार्मिक जनविश्वासअनुसार देवीको भाकल गरेमा वाणी नफुटेका बालबालिकाको बोली आउने र सन्तान नभएकालाई सन्तान प्राप्त हुने विश्वास गरिन्छ । यस्ता विश्वासको वैज्ञानिक पुष्टि भने भएको छैन । सामान्यतया असोजदेखि जेठसम्म गजुरमुखी धाममा भक्तजनको बढी चहलपहल हुने गरेको पुजारी बस्नेतले जानकारी दिनुभयो ।
परम्परागत धार्मिक मेलाको तयारी तीव्र
यसैबीच, कात्तिक पूर्णिमाको अवसरमा मङ्गलबार र बुधबार आयोजना हुने परम्परागत गजुरमुखी धार्मिक मेलाको तयारी तीव्र पारिएको छ । सयौँ वर्षदेखि निरन्तर लाग्दै आएको मेलालाई यस वर्ष पनि विभिन्न धार्मिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमसहित सञ्चालन गर्न लागिएको हो ।
माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयको रोहबरमा स्थानीय गजुरमुखी धाम पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्वाङको संयोजकत्वमा १३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरी तयारी अघि बढाइएको वडा सदस्य ठाकुर श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाका अवसरमा गजुरमुखी देवीको दर्शन तथा पूजाआजा, स्थानीय जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन, सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने उहाँले बताउनुभयो । मेलाको आकर्षणका रूपमा रहेको गजुरमुखी गोल्डकप फुटबल प्रतियोगिता भने मङ्सिर ३ गतेदेखि नै सुरु भइसकेको छ । प्रतियोगिता सञ्चालनका लागि माङसेबुङ गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको मूल व्यवस्थापन समिति अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
मेलामा सहभागी हुने भक्तजन तथा आगन्तुकको सुविधाका लागि सुरक्षा, प्रचारप्रसार, रात्रिकालीन दर्शन, आवास र भोजनको व्यवस्था मिलाइँदै छ । धाम आसपासमा अस्थायी टहरा निर्माण गरी होटल तथा अन्य सेवा सञ्चालन गर्ने तयारीसमेत गरिएको अध्यक्ष नेम्वाङले बताउनुभयो ।
धार्मिक मेलामा आउने भक्तजनको आवागमन सहज बनाउन आवश्यक व्यवस्थापनको काम भइरहेको आयोजकले जनाएको छ । इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा रहेको गजुरमुखी धामसम्म पुग्न विभिन्न सडकमार्गको सुविधा छ । इलामको नेपालटार–मङ्गलबारे–धुसेनी सडक हुँदै मङ्गलबारेसम्म पक्की सडकबाट र त्यसपछि कच्ची सडकमार्फत धाम पुग्न सकिन्छ ।
त्यस्तै, झापाको दमकबाट चिसापानी–फाल्गुनन्द मार्ग हुँदै माङसेबुङको चतुरे र त्यहाँबाट कालोपत्रे सडक हुँदै पनि धाम पुग्न सकिन्छ । पाँचथरको राँकेबाट गैडेँ सडक तथा रविबाट हुलाक-नाङरुङ-गजुरमुखी दोभान सडकमार्फत समेत धाम पुग्न सकिने व्यवस्था छ । गजुरमुखी धाम इलामका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा पर्छ । जिल्लाका अन्य धार्मिकस्थल माइपोखरी, सानो पाथीभरा, माङसेबुङ र माङमालुङमा समेत भक्तजनको चहलपहल बढ्न थालेको छ । धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण इलामका यी स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।
