इरानको सैन्य क्षमता ध्वस्त पारेको ट्रम्पको दाबी, अझै दुई लक्ष्य बाँकी

एजेन्सी, १५ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य तथा आणविक क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताउनुभएको छ। तीमध्ये ‘पिकएक्स माउन्टेन’ नामक शङ्कास्पद आणविक स्थलसमेत रहेको उहाँले उल्लेख गर्नुभएको छ।

शनिबार फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउनुभयो। यद्यपि, उहाँले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गर्नुभयो।

अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहोर्‍याउँदै ट्रम्पले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍याइसकेको दाबी गर्नुभयो।

“हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौँ। अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौँ,” उहाँले भन्नुभयो।

ट्रम्पले ‘पिकएक्स माउन्टेन’लाई पनि निशाना बनाउनुपर्ने उल्लेख गर्नुभयो। उक्त स्थानमा भूमिगत आणविक परिसर रहेको आशङ्का गरिएको छ। तर, इरानले त्यहाँ कुनै पनि प्रकारको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताउनुभएको छ। उहाँले अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न चाहेको पनि स्पष्ट पार्नुभयो।

अमेरिकामा मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनीबीच इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिनुभएको छ।

ट्रम्पले मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने सङ्केत गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *