भारी हिमपातमा डोल्पामा फसेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिँदै
कर्णाली, १५ कात्तिक । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानीगढमा अलपत्र परेका ६ भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार थालिएको छ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको भ्रमण सकेर माथिल्लो डोल्पातर्फ गएका पर्यटक केही दिनदेखिको हिमपातका कारण दानीगढमा फसेका हुन्।
अलपत्र पर्नेमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन्।
नेपाली सेनाको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो। पर्यटक फसेको क्षेत्रमा मोबाइल नेटवर्क नहुँदा फोन सम्पर्क हुन नसकेको उहाँले बताउनुभयो। उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सम्पर्कमा छन्।
मौसम प्रतिकूल बनेपछि माथिल्लो डोल्पामा कात्तिक १२ गतेदेखि पदयात्रामा रोक लगाइएको थियो। तर, पर्यटकहरू रोकावटको अटेरी गर्दै त्यसतर्फ गएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी ढकालले प्रतिकूल मौसमबाट उत्पन्न जोखिमप्रति सजग र सतर्क रहँदै सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ।
