चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं, १६ कात्तिक । काठमाडौंको चावहिलमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान काठमाडौं महानगरपालिका–७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चोकतर्फ आउँदै गरेको बा.प्र. ०२–०५३–१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको प्रदेश ३–०१–००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते अधिकारीलाई उपचारका लागि हेल्पिङ हेण्ड्स अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
