भारतका विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणमा
काठमाडौं, १८ कात्तिक । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुग्नुभएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनुभएका मिश्रीसँग आज द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छलफलमा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ । यसबाट दुई देशबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा विदेश सचिव मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चस्तरीय व्यक्तित्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
उहाँ भ्रमण सम्पन्न गरी भोलि कात्तिक १९ गते नयाँदिल्ली फर्कनुहुनेछ ।
