बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

धनगढी, १८ कात्तिक । बझाङको केदारस्युँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्थानीय २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी टेकबहादुर जोराले जानकारी दिनुभयो ।

घाइते हुनेमा केदारस्युँ गाउँपालिका–७ का प्रेमबहादुर धामी, रमेश धामी (३२ र २६ वर्ष), दुर्गाथली गाउँपालिका–६ की शारदा धामी जाग्री र रामकुमार धामी गम्भीर घाइते भएका छन् । केदारस्युँ–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते छन् ।

प्रहरीका अनुसार चालक मोहन धामीले चलाएको जिपको ब्रेक फेल भएपछि करिब १०० मिटर तल खसेको थियो । स्थानीयले घाइतेको उद्धार गरी जिल्ला अस्पताल बझाङ पठाएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *