तिहारमा स्वदेशी फूल बिक्रीका लागि काठमाडौँले तोक्यो ३३ स्थान

काठमाडौँ, कात्तिक १८ । नेपाली किसानले उत्पादन गरेका फूलको बजार सुनिश्चित गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा फूल बिक्रीको व्यवस्था गरेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा सजावटका सामग्रीको आयात, बिक्री वितरण, भण्डारण र प्रयोगमा समेत रोक लगाएको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले छुट्टाछुट्टै सूचना जारी गरी दीपावलीका अवसरमा स्वदेशी फूल बिक्रीका लागि तोकिएका स्थान तथा प्लास्टिकजन्य फूलको प्रयोगमा लगाइएको प्रतिबन्धबारे जानकारी गराएका हुन् । महानगर प्रहरी बलले फूल बिक्रीस्थलको व्यवस्थापन तथा किसानलाई आवश्यक सहजीकरण गर्ने जनाएको छ ।

महानगर प्रहरी बलले सार्वजनिक गरेको सूचनामा फूल बिक्रीस्थलको व्यवस्थापनमा सहयोग पुर्‍याउन सम्बन्धित व्यक्तिहरूको सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ । जसअनुसार नयाँ बानेश्वरस्थित एनबी सेन्टरका लागि आकृति श्रेष्ठ (९८०१३६२३१२), शङ्खमूलस्थित बिगमार्टका लागि विपिन रावल (९८४८६४३२९७) र नयाँ बानेश्वरको आईप्लेक्स मलका लागि शिशिरकुमार पोखरेल (९८६१७८१७५३) सँग सम्पर्क गर्न सकिनेछ ।

त्यसैगरी मध्य बानेश्वरस्थित सेल्सबेरीका लागि सपना सिजापती (९८०१९७१३०८), बत्तीसपुतलीस्थित फिनिक्स टावरका लागि सुरज थापा (९७६३६९७१४०), चाबहिलस्थित एसी कम्प्लेक्सका लागि गोविन्दराज गिरी (९८४१५१७२३३), चाबहिल गणेशस्थानको तरकारी बजारका लागि अज्जब श्रेष्ठ (९८४१०७८८०८) र केएल टावर अगाडिका लागि चेतना गुरुङ (९८०५८४१९७८) सँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

कमलादीस्थित आईटी बिल्डिङका लागि ०१–४५१५७८६, पुतलीसडकस्थित स्टार मलका लागि चित्रबहादुर ढुङ्गाना (९८६९५३९५११), अनामनगरस्थित भाटभटेनीका लागि अजय लामा (९८०१२४१४५१), सुन्धारास्थित काठमाडौँ मलका लागि ०१–५३५२५५५ र न्युप्लाजास्थित बज्र कम्प्लेक्सको गुडमार्टका लागि मोहिङका भुर्तेल (९८५१४००७९१) सँग सम्पर्क गर्न सकिने महानगर प्रहरी बलले जनाएको छ ।

यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भूको धर्मचक्र पार्क, कालीमाटी ब्याङ्क्वेट, कालीमाटीको द्यौखेल, कलङ्कीस्थित भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल तथा गुणस्तर तथा नापतौल विभागतर्फको खाली जमिनमा पनि फूल बिक्री गर्न सकिनेछ ।

हाँडीगाउँस्थित नरःदे कार्यालय अगाडिको डबली, गणेश मन्दिर डबली, वडा नं. २६ को कोइराला स्मार्ट, महाराजगञ्जस्थित सेल्सबेरी, गोङ्गबु, चप्पल कारखाना र बालुवाटारस्थित बिगमार्ट तथा तीनकुने र सिफल चौरलाई पनि फूल बिक्रीस्थल तोकिएको छ ।

तोकिएका बिक्रीस्थलमध्ये सम्पर्क व्यक्ति र नम्बर सार्वजनिक नगरिएका स्थानमा महानगर प्रहरी बलले नै आवश्यक सहजीकरण गर्नेछ । यसका लागि महानगर प्रहरी बलको ०१–५९०१७६३, ०१–५९०१७६४ वा मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिने महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री निषेध

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) अनुसार नेपाल सरकारले प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको उल्लेख छ । काठमाडौँ महानगरपालिकाले पनि विगतका वर्षदेखि नै यस्ता सामग्रीको आयात, बिक्री वितरण तथा भण्डारण निषेध गर्दै आएको जनाएको छ ।

तिहारमा प्लास्टिकजन्य फूलमाला र पुष्पगुच्छाको प्रयोगबाट वातावरणमा पर्ने नकारात्मक असर कम गर्न स्वदेशी फूल तथा मालाको बिक्री वितरण र प्रयोगलाई प्राथमिकता दिन महानगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

सूचनाको अवज्ञा गरी प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा पुष्पगुच्छा आयात, बिक्री वितरण, भण्डारण वा सजावटका लागि प्रयोग गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने महानगरपालिकाले जनाएको छ । साथै, काठमाडौँ महानगरपालिका, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।

स्वदेशी फूललाई बजारसँग जोड्ने प्रयास

तिहारमा घर, मठमन्दिर तथा सार्वजनिक स्थल सजाउन फूलको प्रयोग बढ्ने भएकाले यस समयमा फूलको माग र कारोबार उच्च हुने गरेको छ । तर, स्वदेशी किसानले उत्पादन गरेको फूलले उचित मूल्य र बजार नपाउने तथा विदेशी फूलले नेपाली बजार ओगट्ने समस्या कायमै छ । यही अवस्थालाई सम्बोधन गर्दै किसानलाई उपभोक्तासम्म प्रत्यक्ष पहुँच पुर्‍याउने उद्देश्यले महानगरपालिकाले बिक्रीस्थल उपलब्ध गराउँदै आएको हो ।

महानगरपालिकाले विसं २०८० देखि तिहारका अवसरमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान तोक्न थालेको हो । नेपाली उत्पादनलाई विदेशी फूलबाट छुट्याएर पहिचान दिन र बिक्रीमा प्राथमिकता सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

पहिलो वर्ष प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजुको भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बिक्रीको व्यवस्था गरिएको थियो । सुरुमा महानगरको योजनाबारे व्यापारीलाई पर्याप्त जानकारी नहुँदा उनीहरू सहरका विभिन्न स्थानमा बसेर फूल बिक्री गर्न थालेका थिए । त्यसपछि महानगर प्रहरी बलले व्यापारीलाई सवारीसाधनमार्फत तोकिएका बिक्रीस्थलमा पुर्‍याउनुका साथै फूल तथा माला लोड–अनलोड गर्नसमेत सहयोग गरेको थियो ।

आयात प्रतिस्थापनका लागि उत्पादन र बजार व्यवस्थापन आवश्यक

नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको आयात अझै उल्लेख्य छ । भारत, नेदरल्याण्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्याण्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, संयुक्त अरब इमिरेट्स, ताइवान र इजरायललगायत देशबाट विभिन्न प्रकारका फूल तथा पुष्पजन्य वस्तु आयात हुने गरेका छन् ।

आयात हुने वस्तुमा विभिन्न प्रजातिका बिरुवा, बीउबिजन, ताजा कट फ्लावर, बल्ब, ट्युबर तथा ट्युबर रुट्स रहेका छन् । स्वदेशमै उत्पादनको सम्भावना हुँदाहुँदै पनि आयातमा निर्भर रहनुपर्ने अवस्थाले पुष्प व्यवसायको उत्पादन क्षमता र बजार व्यवस्थापनमा थप काम गर्नुपर्ने देखाउँछ ।

स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउनु बजार प्रवर्द्धनको सकारात्मक पहल भए पनि पुष्प व्यवसायलाई दिगो र प्रतिस्पर्धी बनाउन उत्पादनदेखि बजारीकरणसम्मको शृङ्खला व्यवस्थित गर्न आवश्यक छ । किसानलाई गुणस्तरीय बीउबिजन, प्राविधिक सहयोग, सिँचाइ सुविधा, उत्पादन सामग्री र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुका साथै फूलको भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सहयोग पुर्‍याउन सके स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ ।

त्यसैले तिहारमा निश्चित स्थानमा फूल बिक्रीको व्यवस्था गर्ने महानगरको पहललाई वर्षभरि स्वदेशी फूलको बजार विस्तार गर्ने अभियानसँग जोड्न आवश्यक छ । उत्पादन वृद्धि, उचित मूल्य, बजारको सुनिश्चितता र प्लास्टिकजन्य कृत्रिम फूलको प्रयोग नियन्त्रणलाई एकीकृत रूपमा अघि बढाउन सके नेपाली पुष्प व्यवसायलाई आत्मनिर्भर र किसानका लागि आयआर्जनको भरपर्दो माध्यम बनाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *