तीन प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना, भोलिदेखि मौसममा सुधार हुने

काठमाडौं, कात्तिक १४। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको संयुक्त प्रभावले देशभरको मौसम प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही विभिन्न स्थानमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

तीन प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशका सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ।

धानबाली भित्र्याउने काम रोक्न किसानलाई आग्रह

मौसममा आएको परिवर्तनका कारण पाकेर भित्र्याउने अवस्थामा रहेको धानबालीमा क्षति पुग्न सक्ने भन्दै महाशाखाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज र भोलि धानबाली भित्र्याउनेलगायतका कृषि कार्य नगर्न अनुरोध गरेको छ। वर्षा र हावाहुरीका कारण काटेर खेतमा सुकाइएको धान भिज्न सक्ने तथा बालीमा क्षति पुग्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन किसानलाई सुझाव दिइएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम प्रतिकूल रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा भ्रमण नगर्न तथा त्यस्ता क्षेत्रमा पुगिसकेकाहरूलाई सुरक्षित स्थानमा बस्न महाशाखाले अनुरोध गरेको छ।

पहिरो र यातायात अवरुद्ध हुन सक्ने चेतावनी

निरन्तर वर्षाका कारण तापक्रम घटेर चिसो बढ्न सक्ने तथा पहाडी र जोखिमयुक्त क्षेत्रमा पहिरो खस्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाले सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र नागरिकलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन आग्रह गरिएको छ।

विशेषगरी पहिरोको जोखिम रहेका सडकखण्डमा यात्रा गर्दा सतर्क रहन, नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका बासिन्दालाई सचेत रहन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन सुझाव दिइएको छ।

भोलि अपराह्नदेखि मौसममा सुधार हुने

यसैबीच, चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर हुँदै जाने भएकाले भोलि अपराह्नदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम प्रणाली कमजोर भएसँगै वर्षा र हिमपातको क्रम घट्दै जाने अनुमान गरिएको छ। यद्यपि, मौसममा पूर्ण सुधार नआएसम्म विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरू र कृषि कार्यमा संलग्न किसानले सतर्कता अपनाउनुपर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *