नेपाल संवत् मौलिक संवत् र राष्ट्रिय पहिचानको आधार हो : राष्ट्रपति पौडेल

काठमाडौं, २४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको मौलिक संवत् भएको उल्लेख गर्दै यसले राष्ट्रिय पहिचान, इतिहास र संस्कृतिलाई सुदृढ बनाउँदै आएको बताउनुभएको छ।

नेपाल संवत् ११४७ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराई नयाँ युगको सुरुवात गरेको स्मरण गर्नुभएको छ। लिच्छवी राजा राघवदेवको समयमा शङ्खधरले गरेको लोककल्याणकारी कार्यको सम्झनामा नेपाल संवत् प्रचलनमा आएको उहाँले उल्लेख गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपाल संवत्जस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने बताउनुभएको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा नयाँ संवत् सुरु हुने विशेष पर्वका रूपमा नेपाल संवत् मनाइने गरेको उहाँको भनाइ छ।

शङ्खधर साख्वाको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिका लागि गरेको परोपकारी कार्यबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ।

नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *