छठको रौनकले छपक्कै मिथिला, घरदेखि घाटसम्म तयारी तीव्र

महोत्तरी, २७ कात्तिक । दीपावलीको रौनक सेलाउन नपाउँदै मिथिला क्षेत्र छठमय बनेको छ । आजदेखि सुरु भएको चारदिने छठ पर्वलाई स्वागत गर्न गाउँबस्ती र बजारदेखि नदी, पोखरी तथा जलाशयसम्म सजिएका छन् । घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने व्रतालु र स्थानीयवासी पूजाका सामग्री जुटाउन तथा छठघाट सजाउन व्यस्त छन् ।

आस्था, निष्ठा र भक्तिको पर्वका रूपमा मनाइने छठलाई लक्षित गर्दै मिथिलाका घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवीको महिमा गाइने गीतले पर्वको उल्लास थपेको छ । नदी, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइ तीव्र पारिएको छ । विशेषगरी युवाहरू घाट सजावट र व्यवस्थापनमा सक्रिय देखिएका छन् ।

पर्वलाई स्वागत गर्न घरका भित्ता लिपपोत तथा रङरोगन गर्ने, बाँसका भाटा र झिक्राले घर सजाउने तथा सडक र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने क्रम पनि बढेको छ । आर्थिक अवस्था जे-जस्तो भए पनि स्थानीयवासी आफ्नो क्षमताअनुसार श्रद्धा र भक्तिपूर्वक छठ मनाउने तयारीमा छन् ।

बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोका अनुसार छठको तयारीसँगै स्थानीयवासीको दैनिकी नै पर्वकेन्द्रित बनेको छ । घरायसी कामकाजदेखि आपसी भेटघाट र कुराकानीसम्म छठको तयारीले प्राथमिकता पाउन थालेको छ ।

छठ नजिकिएसँगै मिथिला क्षेत्रका बजारमा पूजाका सामग्री किन्नेको भीड बढेको छ । केराका घरी, उखु, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्रीको माग बढेको छ । स्थानीय किसानले पनि पूजामा प्रयोग हुने सामग्री बजारमा बिक्रीका लागि ल्याउने तयारी गरिरहेका छन् । यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो ।

त्यस्तै, बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि बढेको छ । माटोबाट बनेका दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीलगायतका भाँडाको मागसमेत बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण यस्ता सामग्रीको व्यापार बढेको हो ।

घरघरमा छठको प्रसाद बनाउने चटारो पनि उत्तिकै छ । ठकुवा र भुसुवालगायतका परिकार तयार गर्न गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी तथा जाँतोमा कुट्ने र पिँध्ने परम्पराले निरन्तरता पाएको छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गर्ने चलन छ ।

भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठ पर्वको तयारीमा निष्ठा नै सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँका अनुसार मिथिलानी महिलाहरू यतिबेला पूजाका लागि आवश्यक सामग्री र प्रसाद तयार गर्न व्यस्त छन् ।

मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने पर्वको दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।

छठ पर्वको अर्को विशेषता सामाजिक सद्भाव र समानता पनि हो । यस अवसरमा पुराना मनमुटाव बिर्सेर सबै समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन् । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी एकै लहरमा बसेर पूजा गर्ने परम्पराले सामाजिक एकता र भाइचाराको सन्देश दिने गरेको छ ।

धार्मिक आस्थाका साथै आपसी सद्भाव, सहयोग र सहिष्णुताको प्रतीक मानिने छठ पर्वले परिवार तथा समाजको सुख, शान्ति र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *