कामको खोजीमा दैनिक मजदुर बजार पुग्छन् : रोजगारीको टुङ्गो हुँदैन
काठमाडौँ, मंसिर ५ । रोजगारीको अनिश्चितता र जीविकोपार्जनको समस्याका कारण सप्तरीका दैनिक ज्यालादारी मजदुर कामको खोजीमा प्रत्येक बिहान राजविराजस्थित मजदुर बजार पुग्ने गरेका छन् । दिनभर काम पाउने आशमा प्रतीक्षा गरे पनि सबैले रोजगारी पाउने निश्चित हुँदैन ।
राजविराज नगरपालिका ७ स्थित गजेन्द्र चोकको पूर्वपट्टि रहेको उक्त स्थान लामो समयदेखि मजदुर बजारका रूपमा परिचित छ । बिहानैदेखि जिल्लाका विभिन्न पालिकाबाट मजदुर यहाँ भेला हुने गरेका छन् । कोही साइकलमा, कोही सिटी सफारीमा त कोही पैदलै खाजाको झोला बोकेर कामको खोजीमा यहाँ आइपुग्छन् ।
बेरोजगारी र आर्थिक अभावका कारण विभिन्न उमेर समूहका मजदुर दैनिक कामको प्रतीक्षामा बस्न बाध्य छन् । कामदार आवश्यक पर्ने ठेकेदार तथा साहु आएपछि उनीहरूले मजदुरको शारीरिक अवस्था, कार्यक्षमता र दक्षताका आधारमा छनोट गरेर लैजाने गरेका छन् । यसरी छनोटमा नपर्ने मजदुर दिनभर प्रतीक्षा गरेर रित्तै घर फर्कनुपर्ने अवस्था छ ।
रूपनी गाउँपालिका-कटैयाका रामप्रसाद यादव परिवारको जीविकोपार्जनका लागि दैनिक मजदुरी खोज्दै गजेन्द्र चोक पुग्नुहुन्छ । उहाँका अनुसार काममा लैजाने ठेकेदारले शारीरिक अवस्था र काम गर्ने क्षमताका आधारमा मजदुर छनोट गर्ने भएकाले फुर्तिला र शारीरिक रूपमा सक्षम देखिनेले प्राथमिकता पाउने गरेका छन् ।
“दिनहुँ काम पाइयो भने आठ घण्टा श्रम गरेर रु आठ सयसम्म कमाइ हुन्छ । तर, काम नपाएको दिन परिवारको छाक टार्नै समस्या हुन्छ”, उहाँले भन्नुभयो । काम पाउने आशमा घण्टौँ प्रतीक्षा गर्नुपर्ने र काम नपाए निराश हुँदै घर फर्कनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
विष्णुपुर गाउँपालिका–६ का बद्री सदाका अनुसार घर निर्माणमा संलग्न मिस्त्रीले दैनिक रु एक हजार २०० सम्म ज्याला पाउने गरेका छन् भने अन्य मजदुरले कामको प्रकृति र आफ्नो क्षमताअनुसार रु ६०० देखि एक हजारसम्म पाउने गरेका छन् । मेहनतअनुसार उचित ज्याला नपाउने समस्या पनि रहेको उहाँले बताउनुभयो ।
मजदुर खोज्न गजेन्द्र चोक पुग्ने ठेकेदार परमानन्द साहले कामको आवश्यकता र मजदुरको दक्षताअनुसार छनोट गरेर लैजाने गरेको बताउनुभयो । काम राम्रो गर्ने र नियमित रूपमा उपलब्ध हुने मजदुरलाई आवश्यकता पर्दा पुनः बोलाउने गरिएको उहाँको भनाइ छ ।
“राम्रो काम गर्ने मजदुरलाई काम रहुन्जेल नियमित बोलाउँछौँ । काममा नआउने वा नियमितता कायम नगर्नेलाई भने अर्को पटक बोलाउन कठिन हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार कामको प्रकृति र दक्षताअनुसार मजदुरले दैनिक रु सात सयदेखि एक हजारसम्म ज्याला पाउने गरेका छन् ।
जिल्लामा हजारौँ मजदुर रहे पनि सरकारले निर्धारण गरेको ज्यालादर व्यवहारमा कार्यान्वयन हुन नसकेको नेपाल ट्रेड युनियन मधेस प्रदेशका अध्यक्ष केदार देवले बताउनुभयो । मजदुरका लागि व्यवस्थित स्थान र आवश्यक सुविधा नहुँदा उनीहरू दैनिक कामको खोजीमा चोकमा भेला हुनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
“करिब पाँच दशकदेखि यस ठाउँमा मजदुर कामको खोजीमा आउने गरेका छन् । तर, उनीहरूका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन सम्बन्धित निकायको ध्यान पुगेको छैन”, उहाँले भन्नुभयो । कामको प्रतीक्षामा रहने मजदुरका लागि बस्ने ठाउँ तथा अन्य आधारभूत सुविधा उपलब्ध गराउन सके उनीहरूलाई ठूलो राहत पुग्ने उहाँले बताउनुभयो ।
दैनिक ज्यालादारीमा निर्भर मजदुरको रोजगारी सुनिश्चितता, श्रमअनुसारको पारिश्रमिक र कामको प्रतीक्षाका लागि न्यूनतम सुविधा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिएको छ ।
