बजारमा माग बढेसँगै थारू आलुखेती विस्तार गर्दै किसान

बर्दिया, ३० कात्तिक। स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र राम्रो मूल्य पाइने भएपछि बर्दियाका किसान रैथाने थारू आलुखेतीतर्फ आकर्षित हुन थालेका छन्। स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि लोप हुने अवस्थामा पुगेको यो आलुखेती पुनः विस्तार हुन थालेको छ।

बढैयाताल गाउँपालिका–६ मैनापोखरका किसान हाकिम थारूले गत वर्ष एक कट्ठामा चार क्विन्टल आलु उत्पादन गरेपछि यस वर्ष खेती दोब्बर बनाउने तयारी गर्नुभएको छ। त्यस्तै, सोही ठाउँका परशुराम थारूले गत वर्ष दुई कट्ठामा सात क्विन्टल आलु उत्पादन गरी चार क्विन्टल बिक्रीबाट २० हजार रुपैयाँ आम्दानी गर्नुभएको थियो।

थारू आलुको माग राम्रो रहेको र ग्राहक घरमै आएर खरिद गर्ने गरेको किसान परशुराम बताउनुहुन्छ। बर्दियामा उत्पादित आलुको माग नेपालगञ्ज, कोहलपुर, काठमाडौं र पोखरासम्म हुने गरेको किसान जगत चौधरीले बताउनुभयो।

बढैयाताल गाउँपालिकाका कृषि प्रसार अधिकृत शरण चौधरीका अनुसार गाउँपालिकामा पाँच हेक्टर क्षेत्रफलमा थारू आलुखेती हुँदै आएको छ। गाउँपालिकाले गत वर्ष ५० प्रतिशत अनुदानमा १६ क्विन्टल बीउ वितरण गरेको थियो भने चालु आर्थिक वर्षमा खेती विस्तारका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत फिर्तुमान चौधरीका अनुसार थारू आलु जिल्लाका आठवटै स्थानीय तहमा खेती हुने रैथाने बाली हो। बारबर्दिया, राजापुर, ठाकुरबाबा, बढैयाताल र गेरुवा क्षेत्रमा यसको खेती बढी हुने गरेको छ। प्रदेश सरकारले पनि रैथाने बाली संरक्षणका लागि चार लाख रुपैयाँ बजेट छुट्याएको छ।

अन्य प्रजातिको तुलनामा उत्पादन केही कम भए पनि थारू आलु प्रतिकिलो ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। प्रकाश नपर्ने ओसिलो ठाउँमा राखे शीतभण्डारबिनै वर्षभरि भण्डारण गर्न सकिने यसको विशेषता रहेको कृषि प्राविधिक चौधरीले बताउनुभयो।

तर, पर्याप्त प्रचारप्रसार र बजारीकरणको अभावमा थारू आलुले अपेक्षित बजार पाउन सकेको छैन। यसको संरक्षण र व्यावसायिक खेती विस्तारका लागि सरकारले थप पहल गर्नुपर्ने किसान अगुवा जगत चौधरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *