ढोरपाटन घुम्ने पर्यटकको नयाँ रोजाइमा जलजला, बढ्दै चहलपहल
म्याग्दी, ३० कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित जलजला ढोरपाटन सिकार आरक्षको सहायक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । सडक पहुँच विस्तार र गोठस्टे सञ्चालनसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढेको हो ।
समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको जलजलामा हिमशृङ्खला, सूर्योदय, सूर्यास्त, हरियाली घाँसेमैदान र प्राकृतिक वातावरणको अवलोकन गर्न सकिन्छ ।
बेनीदेखि मुना, खोरिया, मरेनी, जलजला हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि पर्यटकको चहलपहल बढेको स्थानीयले बताएका छन् । जलजलामा सात वर्षदेखि गोठस्टे सञ्चालन गर्दै आउनुभएका फुलबहादुर विकका अनुसार अहिले दैनिक चार–पाँचवटा गाडी र १५–२० वटा मोटरसाइकलमा पर्यटक पुग्ने गरेका छन् ।
जलजलाबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, नीलगिरि, गुर्जा र पुथालगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ गोठस्टेमा स्थानीय परिकारसहित खाने र बस्ने सुविधा उपलब्ध छ । दुर्लभ रेडपान्डाको बासस्थानसमेत रहेको यस क्षेत्रमा पदयात्रा र साहसिक पर्यटनको सम्भावना छ ।
गाउँपालिकाले सडक सुधार, खानेपानी र पर्यटन पूर्वाधार विस्तारका कार्यक्रम अघि बढाएको छ । गुर्जा, ढोरपाटन, जलजला, मुनामालिका र ताकमकोट जोड्ने रेडपान्डा पदमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनसमेत भइरहेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
यद्यपि, जलजला सिकार आरक्ष क्षेत्रमा पर्ने भएकाले पर्यटकीय पूर्वाधार विस्तारमा नीतिगत चुनौती रहेको गाउँपालिकाले जनाएको छ ।
