तिहार–छठको बिदामा घान्द्रुक, सिक्लेस र ल्वाङ पर्यटकले भरिए, होटलमा कोठा पाउनै मुस्किल
कास्की, २८ कात्तिक । तिहार र छठको लामो बिदा तथा पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका प्रमुख पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो लागेको छ। आन्तरिक पर्यटकको उल्लेख्य आगमनले होटल तथा घरबास भरिभराउ भएका छन् भने अग्रिम बुकिङ नगरी पुग्ने पर्यटकलाई बास पाउनै मुस्किल हुन थालेको छ।
अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन्।
पर्यटकको चाप बढेपछि होटलमा कोठा पाउन कठिन भएको छ। त्यसैले पर्यटन व्यवस्थापन समितिले भ्रमणमा आउनुअघि नै अग्रिम बुकिङ गर्न पर्यटकलाई आग्रह गरेको छ।
