एनपिएल प्लेअफका लागि सुदूरपश्चिममा जर्ज मन्से अनुबन्ध
काठमाडौँ, ३० कात्तिक। स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
सुदूरपश्चिमले प्लेअफ खेलका लागि मन्सेलाई टोलीमा भित्र्याएको जनाएको छ। स्कटल्यान्डको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तरराष्ट्रियमा उत्कृष्ट प्रदर्शन गरेका मन्से आक्रामक ओपनिङ ब्याटरका रूपमा परिचित छन्।
उनले सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाएका थिए। त्यस्तै, सन् २०२५ मा सोही टोलीविरुद्ध १९१ रन बनाउँदै एसोसिएट राष्ट्रका ब्याटरमध्ये एकदिवसीयमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान कायम गरेका थिए।
स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तरराष्ट्रिय खेलेका मन्सेले एकदिवसीयमा तीन शतक र १९ अर्धशतकसहित दुई हजार ७७७ तथा टी–२० अन्तरराष्ट्रियमा तीन शतक र १४ अर्धशतकसहित दुई हजार ५९८ रन बनाएका छन्।
सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मन्सेको आगमनले टोलीको ब्याटिङ थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्। अन्तरराष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगको अनुभवले टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ।
टोलीमा आबद्ध भएपछि मन्सेले पुनः नेपालमा खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्। गत संस्करणमा नेपाली क्रिकेटको वातावरण र समर्थकबाट राम्रो अनुभव पाएको उल्लेख गर्दै उनले सुदूरपश्चिमबाट उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन्।
