दसौँ राष्ट्रिय खेलकुदका ३२ खेलको प्रतियोगिता स्थल निर्धारण

कर्णाली, ६ मङ्सिर । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको प्रतियोगितास्थल निर्धारण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको खेलस्थल तालिकाअनुसार प्रतियोगिताका खेल कर्णाली प्रदेशका सुर्खेतसहित विभिन्न जिल्ला तथा बाँके र बर्दियामा सञ्चालन हुने भएका छन् ।

परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताका अनुसार प्रतियोगिताका २२ खेल सुर्खेतमा सञ्चालन हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुलटेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र इस्पोर्टस् आयोजना गरिनेछ ।

सुर्खेतमा २२ सहित आठ जिल्लामा सञ्चालन हुने

त्यस्तै, टेनिस तथा महिला र पुरुष खो-खो बर्दियामा सञ्चालन हुनेछन् भने पौडी र सुटिङ नेपालगञ्जमा आयोजना गरिनेछ । जुडो र कुस्ती सल्यान, आइटिएफ तेक्वान्दो दैलेख, महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल जुम्ला, बुद्धिचाल कालीकोट तथा शारीरिक सुगठन पश्चिम रुकुममा सञ्चालन हुने परिषद्ले जनाएको छ ।

खेलस्थलको विवरणअनुसार सुर्खेतमा २२, सल्यानमा दुई तथा जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक÷एक खेल आयोजना हुनेछन् । बाँके र बर्दियामा दुई-दुई खेल सञ्चालन गरिनेछन् ।

प्रतियोगिताका केही खेल मङ्सिर ८ गतेदेखि नै सुरु हुने भए पनि औपचारिक उद्घाटन मङ्सिर १६ गते गरिनेछ । प्रतियोगितामा छ हजार खेलाडी र तीन हजार पदाधिकारी तथा अफिसियलसहित करिब नौ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आयोजक मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *