काठमाडौँ महानगरद्वारा सार्वजनिक कुर्सी व्यवस्थापन सुरु : पुरानाको मर्मत र नयाँ थपिने
काठमाडौँ, माघ ११ । काठमाडौँ महानगरपालिकाले सहरका विभिन्न सडक किनारा, पार्क तथा नदी करिडोरहरूमा पैदल यात्रीहरूको सहजताका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । महानगरले सार्वजनिक स्थानमा रहेका कुर्सीहरू हटाउन लागिएको भन्ने भ्रमलाई चिर्दै ती संरचनाहरूको मर्मत-सम्भार र स्तरोन्नति गर्न थालिएको स्पष्ट पारेको छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार, पैदल यात्रीको चाप र आवश्यकताका आधारमा कुर्सीहरूको सङ्ख्या थपघट गर्ने र तिनलाई व्यवस्थित गर्ने योजना रहेको छ । “हामीले उमेर समूह र शारीरिक अवस्थालाई ध्यानमा राख्दै पैदल यात्रीका लागि प्रयोगमैत्री वातावरण बनाउन लागेका हौँ ।” प्रमुख राईले भन्नुभयो, “यसअघि राखिएका कुर्सीहरू हटाउने कुनै योजना छैन । केवल एकरूपता कायम गर्न र जीर्ण भएकालाई मर्मत गर्न साटफेर र व्यवस्थापनको काम भइरहेको हो ।”
यस व्यवस्थापन कार्यअन्तर्गत हाल सिंहदरबार-भद्रकाली सडक खण्डमा रहेका फलाम र काठ मिश्रित पुराना कुर्सीहरूको मर्मत र रङ्गरोगन सुरु गरिएको छ। महानगरले पुराना बेन्चहरूलाई मर्मत गरी पुनः सोही स्थान वा आवश्यकता अनुसार अन्यत्र स्थानान्तरण गर्ने जनाएको छ ।
सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाको समन्वयमा भइरहेको यस कार्यअन्तर्गत २०८१ साल असोज महिनामा मात्रै सहरका विभिन्न स्थानमा १४० वटा नयाँ कुर्सीहरू राखिएका थिए । १.५ मिटर लम्बाइ र आधा मिटर चौडाइका यी कुर्सीहरू प्रतिगोटा १८ हजार ६५५ रुपैयाँ (करसहित) मा खरिद गरिएका हुन् । यी कुर्सीहरू भद्रकाली, सिंहदरबार, बागमती र विष्णुमती करिडोर, गुह्येश्वरी तथा कोटेश्वर लगायतका क्षेत्रमा जडान गरिएका छन् ।
महानगरका अनुसार दोस्रो चरणमा थप ४९ वटा कुर्सीहरू प्राप्त भइसकेका छन्, जसलाई नापी विभाग, तीनकुने-कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर-बबरमहल र कमलपोखरी जस्ता व्यस्त क्षेत्रमा राखिनेछ । यसैगरी, ‘ट्याक्टिकल अर्वानिजम’ को तेस्रो प्याकेज अन्तर्गत थप १५० वटा कुर्सीहरू ल्याउने प्रक्रियामा रहेको र ती कुर्सीहरू माग र पैदल यात्रीको चापका आधारमा विभिन्न स्थानमा वितरण गरिने महानगरले जनाएको छ ।