बोडे–मूलपानी जोड्ने पुल जोखिममा, यातायात बन्द

भक्तपुर, ९ असोज । निरन्तरको वर्षासँगै आएको बाढीले मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने पुलमा यातायात आवागमन बन्द गरिएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार बाढीका कारण सडकको जमिन भासिएर मनोहरा पुलसमेत जोखिममा परेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

बाढीको अवस्था अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कासहितको टोलीले हनुमन्ते र मनोहरा खोलाको बहाव निरीक्षण गरेको थियो।

अविरल वर्षाका कारण भक्तपुरका हनुमन्ते, खस्याङखुसुङ र गोदावरी खोलाको जलसतह बढेको छ। डेकोचा–पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा समेत खोलाको पानी बग्दा यातायात प्रभावित भएको छ।

यसैगरी बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रमा हनुमन्ते खोलाको पानी टहरासम्म पुगेपछि प्रहरीले अस्थायी टहरामा बस्दै आएका मानिसलाई सुरक्षित स्थानमा सारेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख खड्काका अनुसार विस्थापितलाई कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलमा राखिएको छ। बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला मिसिने त्रिवेणी क्षेत्र हो।

यसैबीच वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको भक्तपुरको च्यामासिंह–ताथली–काभ्रेको नाला–बनेपा सडक सञ्चालनमा आएको छ।

बिहानदेखि पहिरोका कारण उक्त सडकमा यातायात रोकिएको थियो। प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख खड्कालगायतको टोलीले सडकको अनुगमन गरेपछि डोजर लगाएर पहिरो हटाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *