वामपन्थी नेता मानन्धरको निधन

maitrinews

 

काठमाडौँ । बामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा निधन भएको छ । पाटन हस्पिटलमा सोमबार उहाँको निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो । छोरा सुनिल मानन्धरका अनुसार, उपचारका क्रममा राति ८ः२० बजे अस्पतालमा मानन्धरको निधन भएको हो ।
विक्रम सम्वत् १९८७ साल पुस ३ गते जन्मनुभएका मानन्धर बारा, पर्सा, रौतहट क्षेत्रमा लोकप्रिय किसान नेताको रुपमा परिचित हुनुहुन्थ्यो । सादगी र इमान्दार कम्युनिस्ट नेताका रुपमा स्थापित मानन्धरले १२ वर्षअघि सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो । मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणा समेत गर्नुभएको थियो । उहाँले ज्येष्ठ नागरिक भत्तासमेत नलिनुभएको परिवारले जनाएको छ । उहाँको श्रीमतीको सात वर्षअघि निधन भएको थियो । स्वर्गीय मानन्धरका एक छोरा र तीन छोरी हुनुहुन्छ ।