मन जित्न गाह्रो छ हसनलाई —आर शर्मा

maitrinews

 

पूर्वी अफ्रिकी मुुलुक तान्जानियामा सङ्घर्षशील महिला सामिआ सुलुह हसन राष्ट्रपति बन्नुभएको छ । ६१ वर्षीया हसनले मुलुकको पहिलो राष्ट्रपति बन्ने सौभाग्य पाउनुभयो । त्यहाँका राष्ट्रपति जोन मगुफुलीको निधन भएपछि उपराष्ट्रपति हसन राष्ट्रपति बन्नु भएको हो ।
मगुफुलीको ६१ वर्षको उमेरमा मार्च १७ मा निधन भयो । त्यसको दुई दिनपछि मार्च १९ राजधानी दारेसलाममा हसनले राष्ट्रपति पदको सपथ लिनुभयो । त्यस अवसरमा उहाँले इमानदार भएर तान्जानियाको संविधानको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तान्जानियाको संविधान अनुसार उहाँले मगुफुलीको दोस्रो चरणको बाँकी अवधि सन् २०२५ सम्म काम गर्नुहुनेछ । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँच वर्षे कार्यकाल हुन्छ ।
पूर्वराष्ट्रपति मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । जनतामाझ लोकप्रिय बनेका कारण सन् २०२० मा दोस्रो कार्यकालका लागि पनि उहाँ नै निर्वाचित हुनुभयो । हसन पनि सन् २०१५ मा उपराष्ट्रपति बन्नुभयो । मगुफुलीको विश्वासपात्रका रुपमा काम गरेकाले सन् २०२० पनि दोस्रो कार्यकालका लागि उहाँ उपराष्ट्रपति बन्नुभयो । मगुफुलीको असमायिक निधनले उहाँमाथि राष्ट्रपतिको जिम्मेवारी आयो । अब उहाँले सबै राजनीतिक दलहरुलाई मिलाएर राष्ट्रिय सहमतिका आधारमा मुलुकको हित र उन्नतिका लागि काम गर्नुपर्ने भएको छ । मुलुकको समग्र विकासका लागि लगानीको वातावरण बनाउन आवश्यक छ ।
जन्जिबारस्थित सामान्य मुस्लिम समुदायमा सन् १९६० जनबरी २७ मा हसनको जन्म भएको हो । उहाँका बाबु शिक्षक हुनुहुन्थ्यो भने आमा गृहिणी । हसन सानैदेखि लगनशील र मिहिनेती हुनुहुथ्यो । त्यही कडा मिहिनेत, कडा परिश्रम साथै इमानदारीपूर्वक काम गरेकै कारण मुलुकको सर्वोच्च पदमा पुग्न उहाँ सफल हुनुभयो । मिहिनेत नै मानिसलाई महान बनाउँछ भन्नुहुने उहाँ कहिल्यै निराश बन्नुभएन । महिला अधिकारका लागि महिला नै सक्रिय हुनुपर्ने उहाँको मान्यता छ । जन्जिबारमा प्रारम्भिक र स्नातक तहको शिक्षा त्यसपछि स्वदेश तथा विदेशबाट उच्चशिक्षा हासिल गर्नुभएकी हसनले सहायकस्तरको कर्मचारीबाट सार्वजनिक जीवन सुरु गर्नुभयो । काम र पढाइ सँगसँगै अगाडि बढाउनुभएकी उहाँ प्रान्तीय सरकारको मन्त्री, सांसद हुँदै केन्द्रीय सरकारमा पुग्नुभयो । उहाँ विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उपराष्ट्रपति बन्नुभयो । राष्ट्रपति मगुफुलीको असमायिक निधनले उहाँको काँधमा राष्ट्रपतिको जिम्मेवारी आयो । त्यसलाई उहाँले स्वीकार्नुभयो । अब उहाँमाथि ठूलो जिम्मेवारी छ । मुलुकको गरिबी र बेरोजगारी समस्या समाधान गर्दै शान्त र समृद्ध मुलुक बनाउन उहाँलाई वैदेशिक लगानी आकर्षित गर्नुपर्ने चुनौती छ । वैदेशिक लगानी भित्र्याउन लागानीमैत्री वातावरण बनाउनुपर्छ । त्यसका लागि कानुनी तथा नीतिगत सुधार आवश्यक छ ।
असंलग्न आन्दोलनको सदस्य राष्ट्र तान्जानिया विकासोन्मुक मुलुक हो । ९ लाख ४५ हजार ८७ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो मुलुकको जनसङ्ख्या साढे पाँच करोडभन्दा बढी छ । धेरै जनसङ्ख्यामा गरिबी छ । यहाँको मुख्य भाषा अङ्ग्रेजी र स्वाहिली हो । मुख्य धर्म इसाई र मुस्लिम रहेको तान्जानियामा पुरुषको औसत आयु ६३ वर्ष र महिलाको ६७ वर्ष छ । गरिबी र बेरोजगारी प्रमुख समस्या हो ।
अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमाल किलिमञ्जारो यहाँको प्रमुख पर्यटकीय आकर्षण हो । त्यसैगरी जङ्गल सफारी र जङ्गल शिकार अर्को लोकप्रिय गन्तव्य हो । यहाँ ठूलो मात्रामा प्राकृतिक ग्यासको भण्डार छ भन्ने कुरा सन् २०१२ मा पत्ता लाग्यो । अब यसको उत्खनन् र प्रयोगका लागि ठूलो विदेशी लगानी आवश्यक छ । विदेशी लगानी जुट्न नसकेका कारण ग्यास उद्योग खोल्न भने सकिएको छैन । पछिल्ला दिनमा केही भारतीय लगानीकर्ताहरु त्यहाँ गएका छन् । उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै छन् ।
लामो समयसम्म विभिन्न देशले उपनिवेश बनाएको यो मुलुक सक्षम राजनीतिक नेतृत्वको अभावले गर्दा पछि पर्यो । विकासका लागि राष्ट्रिय सहमति बन्न सकेन । अस्थिर राजनीति र अपरिपक्व राजनीतिक दलहरुकै कारण अर्थतन्त्रले गति लिएन । विदेशीले उपनिवेश बनाई आफ्नो स्वार्थ पूरा गरे अनि गरिब बनाएर छाडे । यो मुलुक सन् १४९८ देखि १६९९ सम्म पोर्चुगलको अधीनमा रह्यो । सन् १६९९ देखि १८८४ सम्म ओमानी अरबको नियन्त्रणमा गयो । त्यसपछि जर्मनीले नियन्त्रण कायम गर्यो । सन् १९१६ मा बेलायत, बेल्जियम र दक्षिणी अफ्रिकी सेनाले आक्रमण गरेको तीन वर्षपछि बेलायतको अधीनका गयो । सन् १९६१ मा तान्जानियाको एउटा भूभाग तान्जानिका स्वतन्त्र भयो । त्यसको दुई वर्ष पछि सन् १९६३ मा अर्को भूभाग जन्जिवारलाई स्वतन्त्र बनाइयो । तान्जानिका र जन्जिबारलाई मिलाएर सन् १९६४ मा तान्जानिया एउटा सग्लो राष्ट्रका रुपमा उदय भयो ।
तान्जानियालाई स्वतन्त्र बनाउने आन्दोलनको नेतृत्व गर्नुभएका नेता जुलियस निरेरे मुलुकको पहिलो राष्ट्रपति बन्नुभयो । उहाँले विभिन्न पार्टी मिलाएर पार्टी अफ रेभुलुसन नामको एउटा पार्टी बनाउनुभयो । सन् १९६७ मा एक आदेश जारी गरी सोही पार्टीका नाममा एक दलीय शासनसहित समाजवादी आर्थिक नीतिको अभ्यास सुरु गर्नुभयो । यो राजनीतिक अभ्यासले अपेक्षित सफलता पाएन । मुलुकको आर्थिक अवस्थामा सुधार भएन । गरिबी र बेरोजगारी घटेन ।
सन् १९७८ मा युगान्डासित सीमा विवाद भयो । युगान्डाले तान्जानियको केही भूभाग कब्जा गर्यो । त्यसको एक वर्षपछि सन् १९७९ मा तान्जानियाको सेनाले युगान्डामाथि आक्रमण गर्यो । राजधानी कम्पाला कब्जा गरी त्यहाँका कुख्यात राष्ट्रपति इदी अमिनलाई सत्ताच्युत गर्यो । तान्जानियाले गरेको राम्रो काम थियो यो । जसले युगान्डाली जनतालाई कुख्यात इदी अमिनबाट मुिक्त दिलायो ।
एक दलीय व्यवस्था सफल नभएपछि सन् १९९२ मा तान्जानियमा संविधान संशोधन गरी बहुदलीय व्यवस्था स्थापना गरियो । दलहरुबीच बहुदलीय राजनीतिक प्रतिस्पर्धा सुरु भयो । मुलुकले केही आर्थिक गति लिन थालेकै बेला सन् १९९८ मा दारेसलामस्थित अमेरिकी दूताबासमा अलकायदाले बम आक्रमण गरी जनधनको ठूलो क्षति पुर्यायो । त्यसपछि त्यहाँको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो । अर्थतन्त्र पुनः कमजोर भयो ।
सन् २००१ मा चुनावी विषयमा दलहरुबीच विवाद भयो । विपक्षीहरुको र्यालीमाथि सरकारले प्रतिबन्ध लगाएको भन्दै हिंसात्मक प्रदर्शन भयो । ३१ जनाको मृत्यु भयो भने सयौँ घाइत भए । यस घटनाले दलहरुबीच दुरी बढ्यो । राजनीतिक सहमति जुट्न नसक्दा त्यसयता अस्थिर राजनीतिले विकास भएन । भ्रष्टाचार बढ्यो, सुशासनको अनुभूति गर्न जनताले पाएनन् ।
सन् २०१५ मा एमसीसी पार्टीका नेता मगुफुली भ्रष्टाचारीलाई कारबाही गरी सुशासन र विकास गर्ने नारा दिएर सत्तामा आउनुभयो । उहाँलाई विकासको ‘बुल्डोजर’ पनि भनियो । आफ्नो पहिलो कार्यकालमा केही सुधारका प्रयास गर्नुभयो । जनताले उहाँलाई दोस्रो कार्यकालका लागि पनि अनुमोदन गरे । कोरोना महामारीले मुलुक थला पर्यो तर उहाँले कोरोना रोकथामबारे सकारात्मक दृष्टिकोण बनाउनु भएन । अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्नु भएन । घरेलु उपचार गर्ने भन्दै कोरोनालाई बेवास्ता गर्नुभयो । अन्त्यमा उहाँको आकस्मिक निधन भयो । उहाँको निधनको कारण सार्वजनिक गरिएको छैन । कोरोनाका कारण उहाँको निधन भएको भन्दै धेरै समाचार बाहिर आए पनि आधिकारिक पुष्टि हुन सकेको छैन ।
उहाँको निधनपछि राष्ट्रपति बन्नुभएकी उपराष्ट्रपति हसनले मुलुकलाई कोरोना महामारीबाट थप क्षति हुन नदिन अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्दै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ । कोरोना महामारी विश्वव्यापी समस्या भएकाले एक्लो प्रयासले यसको समाधान सम्भव छैन । हसनको काँधमा मुलुकको भविष्य बनाउने जिम्मेवारी आएको छ । एक कुशल महिलाले परिवारमात्र होइन मु्लुक नै बनाउन सक्ने उदाहरण बन्नुभयो भने हसनको कार्यकाल ऐतिहासिक बन्नेछ ।