इन्डोनेसियामा ५३ सैनिकसहित पनडुब्बी बेपत्ता

maitrinews

 

बाली । नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले खोजी कार्यलाई तिब्र बनाएका छन् ।

इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् ।

बुधबार बिहानीपख समुद्रमा डुबेको आशंका गरिएको उक्त जहाजबाट चुहिएको तेल समुद्रको सतहमा देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उक्त पनडुब्बी समुद्रको निकै गहिराईमा डुबेको अनुमान गरिएको छ ।

रक्षा विश्लेषकहरुका अनुसार, केआरआई नाग्गाला ४०२ नम्बरको पनडुब्बीमा धेरै दिनसम्म पुग्ने गरी अक्सिजन रहेको भए पनि जहाज समुद्रको करिब ७०० मिटर गहिराईमा पुगेर टुक्राटुक्रा हुन सक्नेछ ।

अस्ट्रेलियाका रक्षामन्त्री पिटर डटनले प्रारम्भिक रिपार्टले “भयानक त्रासदी” को सम्भावना देखिएको बताउनुभयो ।

जर्मन–निर्मित पनडुब्बी नौसैनिक जहाजहरुको अभ्यासकै क्रममा दुर्घटनामा परेको थियो । डुबुल्की लगाएको केही समयभित्रै जहाजसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो ।