प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ

Smrit

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । हिजो बालुवाटारमा गरिएको एक सय बढीको परीक्षणमा एक दर्जन जतिलाई कोरोना देखिएको बालुवाटार स्रोतले जनाएको छ । तर प्रधानमन्त्री ओली भने सुरक्षित हुनुहन्छ ।

त्यस्तै संसद सचिवालयले गरेको १२ सय ३५ जनाको पीसीआर परीक्षणमा १२ प्रतिशतलाई संक्रमण भएको संसद सचिवालय स्रोतले जनाएको छ । यही बैशाख २२, २३ र २४ गते गरिएको परीक्षणमा प्रतिनिधिसभाका १८ र एक जना राष्ट्रिय सभाका १ गरी १९ जना सांसदलाई कोरोना देखिएको छ । त्यसैगरी अहिलेसम्म २६ सांसद संक्रमित छन् ।

बाँकी एक सय ४१ जना संक्रमितहरु संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आईसीसी कर्मचारी तथा अन्य रहेका छन् । आज ५४ जना सांसदको पीसीआर संकलन गरिएको छ । प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि गरिएको परीक्षणमा यतिठूलो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमित सांसदले पनि मतदान भने गर्न पाउने संसद सचिवालयले जनाएको छ ।

भोलि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने संसद सचिवालयले जानकारी दिएको छ ।