उपत्यकामा एक साता निषेधाज्ञा थपियो

 

काठमाडौं ।  मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको छ। सो निषेधाज्ञालाई अझ प्रभावकारी बनाउन भन्दै प्रशासनले किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेको छ।

सागसब्जी, माछामासु, दूधलगायत बिहान ९ बजेसम्म बेच्न अनुमति दिइएको छ। तर त्यसपछि तरकारी पसल पनि खोल्न नपाइने गरी प्रशासनले कडा पारेको हो।

यसरी किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरू पनि खोल्न नपाइने भनेपछि अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएको भन्दै सिडिओहरूले आज र भोलिमा एक सातालाई पुग्ने खाद्य सामाग्री किनेर राख्न अनुरोध गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
१२ दिन अगाडि थपेको निषेधाज्ञा १३ गते बिहीबार राति १२ बजे सकिँदैछ। शुक्रबार १ बजेदेखि थप एक साता निषेधाज्ञा थपिएको हो।

हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको हो । अध्यादेशमा अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ ।
मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिँडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।