नेपाल आइपुग्यो थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री

maitrinews

 

काठमाडौं । थाइल्याण्डका राजाले कोरोना भाइरस (कोभिड -१९) विरुद्ध लड्नका लागि नेपाललाई पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

थाइल्याण्डका राजाका प्रमुख सल्लाहकार मध्ये एक भिक्षु अनिल शाक्यको विशेष पहलमा थाइल्याण्डका राजाले उक्त सहयोग नेपालकालागि पठाएका हुन् । करीब २ महिना अघि देखि भिक्षु शाक्यले नेपालका लागि सहयोग पठाउन पहल गरिरहेको भए पनि नेपालको प्रशासनिक प्रक्रियामा हुने ढिलासुस्तीका कारण उक्त सहयोग पहिले नै आईनपुगेको हो । तर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले यस कुराको जानकारी पाए सँगै कर्मचारीसंयन्त्रलाई यथाशीघ्र उक्त सहयोग लिन निर्देशन दिए पछि बल्ल सम्बन्धित निकायहरुले उक्त उहयोग लिन तत्परता देखाएका थिए र सोही प्रमको निर्देशन बमोजिम अहिले स्वास्थ्य सामग्री नेपाल आईपुगेको हो । यसकार्यका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले विशेष संयोजनको भूमिका खेलेका थिए ।

राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाउनुभएको स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको हो । स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो । विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुग्नु भएको थियो ।
थाइल्याण्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाउनुभएको हो । स्वास्थ्य सामग्री सहयोग गरेकोमा मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाइल्याण्डलाई धन्यवाद दिनुभएको छ ।