म्यान्मारको सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित

 

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको छ। त्यस्तो आग्रहलाई विरल मानिन्छ।

राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ।

राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ।

कानुनी रूपमा बाध्यकारी नभए पनि राष्ट्रसङ्घको प्रस्तावलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।
म्यान्मारका लागि राष्ट्रसङ्घीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले भनिन्, ूसाँच्चिकै ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरो भइरहेको छ।ू

११९ देशले उक्त प्रस्तावको समर्थन गर्दा बेलारुस मात्र विपक्षमा उभिएको थियो। रुस र चीनसहितका अन्य ३६ देश मतदानमा सहभागी भएनन्।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्य पनि रहेका रुस र चीन म्यान्मारको सेनाका लागि दुई ठूला अस्त्र आपूर्तिकर्ता हुन्।
दक्षिण एशियाली देशमध्ये नेपाल, भारत, पाकिस्तान, भुटान, बाङ्ग्लादेश र श्रीलङ्काले मतदान गरेनन्। तर अफगानिस्तान र माल्दिभ्सले प्रस्तावको पक्षमा मतदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *