पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्दै

 

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । करिब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले यस पटक प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।
यसै अधिवेशनमै प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने भए पनि कहिले लिने भन्ने टुंगो छैन ।