नयाँ पार्टी खोल्न नेपालमाथि दबाब

maitrinews

 

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गरेर शेरवहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सत्तारुढ गठबन्धन नछाड्न दबाब बढेको छ । नेपालले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।

शनिवार दिनभर आफ्नै निवासमा आफू निकट सांसदहरुसँग छलफल गर्दा नेपाललाई केपी ओलीलाई अध्यक्ष मानेर पार्टी एकता नगर्न दबाब दिइएको छलफलका एक सहभागी बताए । नेपालले पनि आफू १० बुँदे सहमतिको आधारमा एकतामा जान नसक्ने बताएका छन् ।

नेपाललाई साथ दिएका २२ जना सांसद र उनी निकट कोर टिमका नेताहरुले लोकतन्त्र, संसद र संविधान बचाउन आफैंले बनाएको गठबन्धन नछाड्न दबाब दिएका छन् । उनीहरुले सरकारमा सहभागी हुनुपर्ने तर त्यसअघि दलको टुंगो लगाउनुपर्ने बताएका छन् ।

आफू निकट सांसदहरुसँग छलफलपछि शनिवार साँझ बरिष्ठ नेता नेपाल सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका थिए । नेपाललाई गठबन्धनका शीर्ष नेताले पनि सरकारमा सहभागी हुन र त्यसका लागि आवश्यक कानूनी लगायत अन्य बाधा फुकाउन सघाउने बताएका छन् ।

कांग्रेसका एक नेताले भने, ‘अहिले शेरवहादुरजी जुन कुर्सीमा हुनुहुन्छ माधवजीले साथ नदिएको भए सम्भव थिएन । त्यसैले उहाँलाई परेको अप्ठेरो हामीले फुकाइदिनुपर्छ तर गठबन्धनबाट उहाँ बाहिर जान हुँदैन । उहाँले गठबन्धन छाड्नुभयो भने उहाँले नै बनाएको सरकार फेरि खतरामा पर्छ र संसद विघटनतिरै जान्छ ।’

माधव नेपाल समूहलाई सरकारमा कम्तिमा ६ देखि ८ जना मन्त्री दिन गठबन्धनका नेता तयार छन् । ओली सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखहरु विहीवारै हटाउने तयारी थियो । तर गठबन्धनमा सल्लाह गरेरै टुंगो लगाउन भनेर रोकिएको बताइएको छ ।

सात प्रदेश प्रमुखमध्ये कांग्रेस,माओवादी र माधव समूहले दुई दुई जना र जसपाको उपेन्द्र यादव पक्षले एकजना पाउने अनौपचारिक समझदारी भएको छ । त्यस्तै ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति रोकिएको छ ।

अब राजदूत लगायत सबै राजनीतिक नियुक्तिहरुमा पनि माधव पक्षले माओवादी सरह भाग पाउने अवस्था छ । एमाले एकताको लागि माधव नेपाल निकट प्रभावशाली नेताहरु वार्तामा अल्झिएका कारण सत्ता गठबन्धनको भागबण्डा र मन्त्रिपरिषद विस्तार समेत रोकिएको बारेमा शनिवारको शीर्ष बैठकमा पनि छलफल भएको थियो ।
नेपाल निकट एक नेताले भने, ‘माधव नेपाल अहिले बिगतमा एकल महासचिव भएको बेलाभन्दा बढी शक्तिशाली हुनुहुन्छ । उहाँले चाहँदा आजको भोलि आठ नौ जना मन्त्री,कम्तिमा दुईजना मुख्यमन्त्री,दुई प्रदेश प्रमुख,४ जना राजदूत बनाउने ठाउँमा हुनुहुन्छ । अरु धेरै ठाउँमा आफ्ना मान्छे सेटल गर्ने अवस्था छ । यो शक्ति उहाँ एमालेमा भोलि अध्यक्ष हुनुभयो भने पनि सम्भव छैन ।’