नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवले गरेका यस्ता छन् सकारात्मक कामका फेहरिस्त

Mohan Bastola

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालमा गरेका सकारात्मक कामको फेहरिस्त प्रस्तुत गर्नुभएको छ । केही सञ्चारकर्मीहरुसँग अनौपचारिक छलफल गर्ने सिलसिलामा उहाँले आफ्नो कार्यकालमा गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको हो । उहाँलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिने अफवाह फैलाएपछि उहाँले सिमित सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले उचित जिम्मेवारी दिए सहयोग गर्ने तर, अपमानित ढंगले नहट्ने चेतावनी समेत दिनुभयो । गत कात्तिकमा प्राधिकरणको कार्यकारी निर्देशक बन्नुभएका शाक्यले ६ महिनाको अवधिमा आफूले प्राधिकरणमा के–के काम गरें भनेर फेहरिस्त नै सुनाउनुभयो । ‘सरकारले सही ढङ्गले कामको जिम्मेवारी दिँदा म काम गर्न तयार छु,’ उहाँले भन्नुभयो, ‘तर मलाई असक्षम देखाएर जबरजस्ती निकाल्न खोजियो वा अन्याय गरियो भने अदातलसम्म पुग्ने बाटो छँदैछ ।’

उहाँले सुरुवातदेखि नै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको पनि बताउनुभयो । ‘मैले कागती लिएर गए पनि ‘लेमेनेट’ बनाएको छु । जहाँ गएको छु, राम्रो गरेको छु । तर, दण्ड दिएर, असक्षम भनेर हटाउन खोजियो भने न्याय खोज्ने नै छु,’ उहाँले भन्नुभयो, ‘ ७ महिनाको अवधिमा ढल्केबरको ४०० केभीए प्रसारणलाइनमा पूर्णता दिनु, लकडाउनका समयमा पनि छिटो छरितो सेवा दिनु, अक्सिजन उद्योगहरुलाई प्यारालाल फिडर दिनु, सिस्टम कोल्याप्स हुने अवस्थालाई गत वर्ष ४० पटक रहेकामा यसपटक ३४ मा झार्नु मेरो कार्यकालमा सफल काम हुन् ।’
उहाँले अपर तामाकोसीको विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोडिएको, भारतीय बजारबाट सोझै विद्युत् खरिद गर्न सकिएको लगायत प्रगति पनि सुनाउनुभयो ।

यस आर्थिक वर्षमा विद्युत् पधिकरणको नाफा घट्नुमा प्रशासकीय नभई प्राविधिक कारण रहेको भन्दै नाफा घट्नुमा आफ्नो कुनै हात नभएको उहाँले बताउनुभयो । डेडिकेटेडलाइनको व्यवस्था २०७७ साउनबाट हटेकाले साढे ३ अर्ब रुपैयाँ आम्दानी स्वतः घटेको तथा माग बढेको र आन्तरिक आयोजनाहरुबाट माग घटेकाले नाफामा असर पुगेको उहाँले बताउनुभयो । सरकारले १० युनिटसम्म उपयोग गर्नेलाई निःशुल्क दिने व्यवस्था गरेकाले पनि विद्युत प्राधिकरणको नाफा खुम्चिन पुगेको कार्यकारी निर्देशक शाक्यको भनाई छ । ‘दुई अर्ब रुपैयाँ हामीले कार्यालय सञ्चालन र आयोजना मर्मतसम्भारबाट जोगाएका थियौं,’ उहाँले भन्नुभयो, ‘तर महामारीकै कारणले नाफा खुम्चिन पुग्यो । यस वर्ष डेडिकेडेट फिडर नदिइएको कारण ३ अर्ब ५० करोड कम आम्दानी भएको हो । भारतबाट गत वर्षभन्दा धेरै विद्युत् ल्याइएको कारण खर्च बढेको र केही चुहावट बढेको कारण नाफामा कमी आएको हो । ’
काठमाडौंभित्र विभिन्न क्षेत्रका प्रसारणलाइनबाट आउने बिजुलीलाई एउटै प्रवाहमा जोड्ने गरी ‘लुप’ बनाएको, जसले अहिले तामाकोशीबाट आएको धेरै बिजुली काठमाडौंमा वितरण गर्न सकिने अवस्था बनेको उहाँको भनाई छ । ढल्केबर सबस्टेसनलाई ४०० केभीमा चार्ज गरेर ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन ४०० केभीमा चलाइएको, पहिलो पटक २२० केभीको दाना–कुश्मा र खिम्ती–ढल्केबर लाइन सञ्चालनमा ल्याएको, तामाकोशी जलविद्युत आयोजना पूरा गरेर ४ वटा युनिट चलाएको उहाँले बताउनुभयो ।