नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कुन सवारीले कति तिर्नुपर्छ?
काठमाडौं, १२ कात्तिक । नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले यही कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले बुधबार सार्वजनिक सूचना जारी गर्दै सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार टोल शुल्क उठाउन लागिएको जनाएको छ ।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरेको थियो । सवारीसाधनको प्रकार र क्षमताअनुसार फरक–फरक शुल्क तोकिएको छ ।
कुन सवारीसाधनले कति शुल्क तिर्नुपर्छ?
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, मिनीबस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
बस तथा सिङ्गल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यसैगरी, मल्टिएक्सल ट्रक तथा अन्य सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ तथा काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।
