कास्की कारागारबाट कैदी भागेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
कास्की, १२ कात्तिक । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा जन्मकैदको सजाय भोगिरहेका कैदी कारागारबाट फरार भएपछि कास्की कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय सन्तोष जलारी गत असोज ३१ गते राति करिब २ बजे कारागारबाट भागेका थिए । बिजुली मर्मतका लागि कारागारमा राखिएको भर्याङ चढेर उनी फरार भएका थिए । प्रहरीले उनलाई कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार जलारीले योजनाबद्ध रूपमा भाग्ने तयारी गरेका थिए । अनुसन्धानका क्रममा उनले एक महिनादेखि नै कारागारबाट भाग्ने योजना बनाएको बताएको कार्कीले जानकारी दिनुभयो ।
जलारीले कारागारभित्र पसलसमेत सञ्चालन गर्दै आएका थिए । बिजुली मर्मत गर्नुपर्ने भन्दै उनले भर्याङ आफ्नै पसल रहेको ठाउँमा राखेका थिए । मध्यरातमा त्यही भर्याङ प्रयोग गरेर भागेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार कारागारको सुरक्षार्थ खटिएका प्रहरी र कैदीका नाइकेको पर्याप्त ध्यान नपुगेका कारण जलारी भाग्न सफल भएका हुन् । उनले नाइके र अन्य कैदीलाई समेत झुक्याएर भागेको पाइएको छ ।
कारागारबाट कैदी भाग्ने घटना विरलै हुने गरेको उल्लेख गर्दै कार्कीले यस घटनाले कारागारको सुरक्षा संवेदनशीलताप्रति थप सचेत हुनुपर्ने देखाएको बताउनुभयो ।
कारागारका जेलर घनश्याम गौतमका अनुसार जलारी फरार भएको जानकारी भोलिपल्ट बिहान कैदी गणना गर्ने क्रममा मात्र भएको थियो । घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठ्नु स्वाभाविक रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले फरार जलारीलाई दुई दिनभित्रै पक्राउ गरेको जेलर गौतमले जानकारी दिनुभयो ।
जलारीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
