कति प्रविधिमैत्री बन्ला काँग्रेस महाधिवेशन ?

 

काठमाडौँ । ‘उत्साह, एकता र रूपान्तरणस सफल बनाऔँ १४औँ महाधिवेशन’को नाराका साथ नेपाली काँग्रेस पार्टीले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी गृहकार्य गरिरहेको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको( संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखेर तयारी अगाडि बढाएको हो ।

गृहमन्त्री एवं महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले नेपाली काँग्रेसलाई समयानुकूल रूपान्तरण गर्ने गृहकार्य पहिल्यै सुरु भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक क्रियाशील सदस्यता भर्ने र नवीकरण गर्न पनि प्रविधिको प्रयोग गरेका छौँ । पार्टीको आधिकारिक वेबसाइटमै क्रियाशील सदस्यको नामावली हेर्ने व्यवस्था गरिएको छ, महाधिवेशनलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।”

केन्द्रीय सदस्य खाणले प्रविधिको प्रयोग गर्ने पार्टीका रूपमा नेपाली काँग्रेस अग्रसर भएको बताउनुभयो । यसअघि क्रियाशील सदस्यता भर्न पनि फाराम भरेपछि तहगत रूपमा सिफारिस गर्ने र केन्द्रीय समितिले स्वीकृत गरेर नामावली जिल्लामा पठाउने गरिएको थियो ।
नेपाली काँग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित प्रचारप्रसार समितिले १४औँ महाधिवेशनको लोगो सार्वजनिक गर्ने बताउनुभयो । शर्माले महाधिवेशनका लागि ‘उत्साह, एकता र रूपान्तरणस सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नारा तय गरिसकिएको जानकारी दिनुभयो ।