जटिल मोडमा रुस—युक्रेन युद्ध ,आर शर्मा

maitrinews

 

विश्व जनमत युक्रेनको पक्षमा भए पनि युक्रेनले विशाल मुलुक रुससँग लामो समयसम्म रुससँग युद्ध गर्न सक्दैन । रुसले युक्रेनलाई जसरी पनि हराउने गरी सैन्य कारबाही तीव्र पारेको छ । रुसको सैन्य कारबाहीलाई विश्व समुदायले निन्दा र भत्र्सना गरेको छ । यसले रुसको साख गिरेको छ । यस युद्धमा युक्रेनलाई हराए पनि रुस आफै हार्दै छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ता र शक्ति उन्माद परिणाम हो युक्रेनमाथि यो अन्यायपूर्ण सैन्य कारबाही ।
रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेको दुई साता पूरा भएको छ । यो अवधिमा हजारौँ मानिसको ज्यान गइसकेको छ । ज्यान जोगाउन २० लाखभन्दा बढी युक्रेनीले देश छोडेका छन् भने एक करोड २० लाख आन्तरिक रुपमा विस्थापित भएका छन् । रुसी आक्रमणले तीन हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका छन् । राजधानी किभलगायतका ठूला ठूला सहर तहसनहस भएका छन् । युद्ध जति लम्बिन्छ त्यति नै बढी जनधनको क्षति हुने अवस्था छ । त्यसैले यो युद्ध तत्काल अन्त्य गरी थप जनधनको क्षति हुनबाट युक्रेनलाई जोगाउनुपर्छ ।
यो युद्धमा युक्रेनले जित्नसक्ने अवस्था छैन । त्यसैले तत्काल युद्धविराम गराई वार्ताद्वारा समास्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायले पहल गर्नुपर्छ । नेटो सैनिक युक्रेनको पक्षमा नलड्ने खाली हतियारको सहयोगले युद्धमात्र लम्बिने र यसबाट युक्रेन थप तहसनहस हुनेछ ।
युक्रेनमाथिको रुसी सैन्य कारबाहीलाई कुनै पनि हिसाबले जायज मान्न सकिँदैन । एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि गरिएको यो सैन्य कारबाही संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्य हो । रुसले युक्रेनमाथि ठूलो मानवताविरोधी अपराध गरेको छ । यसका लागि रुसी राष्ट्रपति पुटिनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ताकि यस्ता खाले अमानवीय आक्रमण भविष्यमा कसैले पनि नगरोस् भनी आवाज उठेको छ ।
युद्ध आफैमा खराब हो । युद्धबाट कहिल्यै पनि शान्ति प्राप्त हुन सक्दैन । यसले हिंसा र प्रतिहिंसामात्र जन्माउँछ । त्यही भएर संयुक्त राष्ट्रसङ्घले युद्धलाई अवैध घोषणा गरेको हो । आफ्नो सुरक्षाको निहुँ बनाएर रुसले युक्रेनमाथि गरेको सैन्य कारबाहीले युक्रेन त तहसनहस भयो नै रुस पनि दीर्घकालसम्म अन्तर्राष्ट्रिय समुदायबाट एक्लिनुपर्ने अवस्था आउँदैछ । सत्ता र शक्तिको उन्माद लगेका पुटिनले यो युद्धपछि महँगो मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ । आफ्नो मुलुकको सुरक्षा खतरामा पर्छ भन्ने मनोवश्लेषण गरी छिमेकी मुलुकमाथि बर्बरतापूर्ण, अन्यन्तै अमानवीय ढङ्गले बमबारी गरी जनधनको क्षति पुर्याउनु, निमुखा जनताको जीवनमाथि खेलबाड गर्नु अनुचित काम हो । राष्ट्रपति पुटिनले जे गर्नुभयो यसबाट सन् २००० देखि चार पटकसम्म राष्ट्रपति बन्दा उहाँले कमाएको सारा इज्जत, मान, प्रतिष्ठा समाप्त भएको छ । उहाँलाई अब एउटा क्रूर, आततायी र हिंस्रक शासकका रुपमा चित्रित गरिनेछ ।
सोभियत सङ्घको पतनपछि तहसनहस भएको रुसलाई पुनः लयमा ल्याउन चौथो कार्यकालसम्म राष्ट्रपति निर्वाचित हुँदा पुटिनको लोकप्रियता निकै बढेको थियो । सन् २०१८ को मार्च १८ मा भएको राष्ट्रपतीय निर्वाचनमा उहाँ ७६ प्रतिशत मत ल्याई विजयी बन्नुभयो । उहाँबाट विश्व शान्ति र समझदारीका महत्वपूर्ण काम हुने अपेक्षा गरिएको थियो । तर सन् २०२२ को फेबु्रअरी २४ देखि छिमेकी युक्रेनमाथि गर्नु भएको अन्यायपूर्ण सैन्य कारबाहीले उहाँको विश्वव्यापीरुपमै ठूलो बदनाम भएको छ । सन् २०२४ सम्म पदमा रहे पनि अब उहाँले निकै ठूलो मूल्य चुकाउनुपर्ने भएको छ ।
पुटिन सन् २००० को मेमा पहिलोपटक रुसको राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २००४ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनभयो । रुसको संविधानमा लगातार दुईपटकभन्दा धेरै राष्ट्रपति बन्न नपाउने प्रावधान थियो । सन् २००८ मा आफ्नो दोस्रो कार्यकाल सकिएपछि उहाँले आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बन्नुभयो । मेदभेदेभ राष्ट्रपति बने पनि सत्ताको साँचो भने पुटिनको हातमा थियो । पार्टी र राज्यको सर्वशक्तिमान उहाँ नै हुनुभयो । मेदभेदेभको कार्यकालको अन्तिमतिर संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल चार वर्षबाट बढाएर छ वर्ष पुर्याइयो । त्यसपछि सन् २०१२ मा पुटिन तेस्रो पटक छ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभयो । सन् २०१८ मा चौथो पटक पनि राष्ट्रपतिमा झन् लोकप्रिय भई निर्वाचत उहाँको युद्धमोहले अब भने साँच्चिकै सङ्कटमा पर्दै हुनुहुन्छ । उहाँ आजीवन राष्ट्रपति बनी शक्तिमै रहिरहने सपना चकनाचुर हुँदैछ । उहाँको युद्धमोहले युक्रेन त तहसनहस भयो नै पाँच हजारभन्दा बढी अन्तर्राष्ट्रिय नाकाबन्दीले लामो समयसम्म रुस पनि आर्थिक रुपमा धराशायी हुने सम्भावना बढेको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र रुस सामरिक हिसाबले सबैभन्दा शक्तिशाली राष्ट्र हो । संसारका जुनसकै कुनामा पनि परमाणु आक्रमण गर्नसक्ने क्षमता रहेको रुसलाई अब आर्थिकरुपले पनि शक्तिशाली बनाउने अभियानमा लाग्नुपर्नेमा युद्धमा जाने पुटिनको महत्वाकाङ्क्षाले कूटनीतिक तनाव बढाएको छ । उहाँको पछिल्लो कदम रुसका लागि पनि घातक सिद्ध हुँदैछ ।
सन् २०१४ मा युक्रेनसँगको विवादमा युक्रेन अधिनस्थ क्रिमियालाई रुसमा विलय गराएका पुटिनले अहिले युक्रेनमाथि नै सैन्य कारबाही गर्नुलाई कुनै पनि हिसाबले राम्रो मानिएको छैन । सोभियत सङ्घकालीन गणराज्य युक्रेन सोभियत सङ्घको पतनसँगै स्वतन्त्र राष्ट्र बनेको हो । एउटा स्वतन्त्र छिमेकी राष्ट्रले अन्तर्राष्ट्रिय प्रचलित मूल्य र मान्यता अनुसार आफ्नो निर्णय गर्ने अधिकारको प्रयोग गर्न पाउनुपर्छ । युक्रेनलाई आत्मनिर्णयको अधिकार सुरक्षित छ । स्वतन्त्र मुलुकको हैसियतले युक्रेनलाई युरोपेली सङ्घ र नेटोको सदस्यता लिने अधिकार छ । चाहेको खण्डमा उसले दुवैको सदस्यता लिन सक्छ । युक्रेन युरोपेली सङ्घ र नेटोको सदस्य भए आफ्नो सुरक्षा खतरामा पर्छ भनी पुटिनले गरेको सैन्य कारबाहीले विश्वका स्वतन्त्र राष्ट्रको अधिकार खोसिएको छ । यो कारबाहीलाई कुनै पनि हिसाबले सत्य सावित गर्न सकिँदैन । यो कारबाही तत्काल अन्त्य गरी रुसले युक्रेनको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको सम्मान गर्नुका साथै सैन्य कारबाहीबाट भएको जनधनको क्षतिपूर्ति दिनुपर्छ जुन क्षतिपूर्ति निकै ठूलो धनराशीको हुनेछ ।
सन् १९१७ को अक्टोबर क्रान्तिसँगै ७४ वर्ष समाजवादी चलाएको सोभियत सङ्घ १९९१मा विघटन भएसँग रुस १५ टुक्रामा विभाजित भयो । यो घटनाले आर्थिकरुपले धाराशायी बनेको रुसलाई सन् २००० देखि पुटिनको आगमनले नयाँ गति दियो । पुटिनकै नेतृत्वले रुसले फेरि महाशक्ति राष्ट्र बन्यो । रुसलाई शक्तिशाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुटिनले प्राकृतिकरुपले धनी तेल र ग्यासको उत्खनन् तथा बिक्रीवितरणलाई जोड दिनुभयो । युरोपलाई तेल र ग्यास बेचेर धनी बनेको रुसले फेरि आफ्नो शक्ति देखाउन थालेको छ । यो उसको पतनको कारण बन्दैछ ।
रुस संसारको सबैभन्दा ठूलो राष्ट्र हो । एक करोड १७ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुकको जनसङ्ख्या भने मात्र १४ करोड ३० लाख रहेको छ । यहाँका मुख्य भाषा रुसी हो भने धर्म इसाई र मुस्लिम हो । पुरुषको औसत आयु ६३ र महिलाको ७७ वर्ष रहेको यो मुलुक ७४ वर्षसम्मको समाजवादी व्यवस्था ढलेपछि चरम आर्थिक सङ्कटमा फस्यो ।
सन् १९५२ को अक्टोबर ७ मा लेनिनग्रादमा पुटिनको जन्म भएको हो । कानुनको अध्ययनपछि रुसको सुरक्षा मामिला हेर्ने निकाय केजीबीमा संलग्न भई त्यसको प्रमुखसमेत बन्नुभएका उहाँ सन् १९९७ मा तत्कालीन राष्ट्रपति बोरिस यल्त्सिको सरकारमा सहभागी हुुनुभयो । सन् १९९९ मा यल्त्सिनले राजीनामा दिएपछि कार्यवाहक राष्ट्रपति बन्नुभएका पुटिन सन् २००० को राष्ट्रपतीय निर्वाचनमा सहजै जित हासिल गर्नुभयो । त्यसपछि उहाँको राजनीतिक प्रभाव बढ्दै गयो ।
सुरुमा पुटिनले रुसलाई युरोपेली सङ्घ र नेटोको प्रभावबाट अलग गर्न पाउनुभएको सफलता नै उहाँको लोकप्रियताको कारक बन्यो । उहाँले रुसको छुट्टै पहिचान स्थापित गर्दै सोभियत सङ्घ विघटनपछि तहसनहस अवस्थामा पुगेको रुसलाई पुनर्जीवन दिने काम गर्नुभयो । पुटिनको वाह्य आलोचनाकाबीच पनि रुसीहरुमाझ लोकप्रियता बढेको थियो । तर अहिले युक्रेनमाथिको आक्रमणले रुसीमाझमा पनि उहाँको चर्को विरोध भएको छ । पुटिनले विश्व शान्ति र स्थायित्वका लागि रचनात्मक काम गर्नुपर्नेमा युक्रेनमाथिको अमानवीय कारबाहीले उहाँ अप्ठेरोमा पर्दै हुनुहुन्छ ।