शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार निष्प्राण भैसक्योः ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार निष्प्राण र डेड भइसकेको बताउनु भएको छ । ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले यस्तो बताउनु भएको हो ।
‘देशका लागि मृत भइसक्यो । सतीदेवीलाई शिवले काँधमा बोकेर हिँड्दाजस्तो बोकेर हिँड्नु आवश्यक छैन । शिवले बोकेर हिँड्दा सतीदेवी त बाँचिनन् भने यस्तो गठबन्धन बोकेर के अर्थ ?,’ उहाँले भन्नुभयो, ‘यो सरकारलाई अब धेरै बोकेर हिँडिरहनु उपयुक्त छैन ।’
उहाँले वर्तमान सरकारका प्रत्येक अंग झर्दै जाने बताउनुभयो । ‘अस्ति एउटा अंग फत्र्याक्क झर्यो अब अरू अंग पनि झर्छन् । तर, भ्रष्टाचारी अंग झरेर पीठ बन्छ ? जहाँ यसका अंग झर्छन् त्यो ठाउँ रुखो हुन्छ । यसले हैजा फैलाउँछ,’ उहाँले भन्नुभयो । ओलीले यो परमादेशी सरकारको अब कुनै अर्थ नभएको भन्दै आफ्नो पार्टी सकेसम्म सहमतिको बाटोमा जान चाहेको बताउनुभयो ।
