काँग्रेसको रोजाइमा भुवन केसी, बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौँ । कुनै समयका चर्चित हिरो भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

केही समय अघि मात्रै केसी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । उहाँसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।
पहिलो संविधानसभा चुनावपछि केसी एमाले प्रवेश गरे पनि त्यहाँ उहाँ लामो समय टिक्न सक्नु भएको थिएन ।

गत स्थानीय तहको चुनावमा केसीलाई स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवारका रूपमा घोषणा गरेको थियो । तर केसीले भने प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताएपछि पनि गत वैशाख २० गते केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित कांग्रेस प्रवेस गरेका थिए ।