निगम भन्छन् इन्धनको मूल्य घटाउन सकिंदैन
काठमाडौं : नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ । निगमले बुधबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकोले तत्काल मूल्य नघट्ने बताएका छन् ।
इण्डियन आयल कर्पोरेशनबाट मूल्य समायोजन भएर रेट घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ । निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत नै राख्नुपर्ने निगमले जनाएको छ ।
लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ ।
भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो ।
१५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो ।
निगमका लागि सो मूल्य घटेर आएपछि हाल उसलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा छ । डिजलमा ९ रुपैयाँ ३७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ४९९ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।