नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

काठमाडौं : नेपालमा नयाँ प्रजातिको छेपारो भेटिएका छन् ।

मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकामा पर्ने चुरे क्षेत्रमा पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो ।

यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ ।

संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानका क्रममा नयाँ प्रजातिको छेपारो फेला परेको पुष्टि गरेको हो ।

विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो ।

यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो ।

चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुङ्गा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजातिका छेपारो नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरूले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *