लोपोन्मुख वनस्पति सतिसाल जोगाउने अभियान

मकवानपुर : मकवानपुरको बागमती गाउँपालिका–४ लमकानामा लोपोन्मुख अवस्थामा पुगेको बहुमूल्य वनस्पति सतिसालसहित तीन सय ६५ वटा बिरुवा रोपिएको छ ।

बागमती पालिका अध्यक्ष सर्केश घलानका अनुसार महँगो र लोप हुन लागेको सतिसाललाई लोप हुन नदिने उद्देश्यले सतिसालसहित अन्य फलफूलको रुख पनि रोपिएको छ ।

उहाँका अनुसार विजयसाल, एभोकाडो, निम, अमला, पिटौजिया प्रजातिका बिरुवा रोपिएको छ । अध्यक्ष घलानले सतिसाल दुई सय, विजयसाल ७० वटा, एभोकाडो १४, निम २५, अमला ५० र पिटौजिया प्रजातिको छवटा बिरुवा रोपण गरिएको बताउनुभयो । उहाँले मूल्यवान काठका रुपमा प्रयोग हुने सतिसाल जोगाउनुपर्ने बताउनुभयो ।

जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतमले सतिसाल लोप हुने अवस्थामा पुगेकाले बचाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । सतिसालको काठ मूल्यवान हुने र सजिलै महँगोमा बिक्री हुने गरेका कारण पनि यसबाट अर्थतन्त्र बलियो बनाउन सकिने उहाँको भनाइ छ  ।

सतिसालबाट बन्ने दराज, कुर्सी, टेबलजस्ता फर्निचरलाई तराई तथा भारतीय बजारमा पनि बिक्री हुने गरेकाले विगत वर्षहरूमा यो सालको विनाश भएको अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

सतिसाल फुल्छ र कोसामा बीउ लाग्छ । काठ भने चक्र र धर्साबुट्टा एवं कालो र रातो रङको हुने गर्दछ । यसबाट बनेका फर्निचर विश्वबजारमा नै मूल्यवान रहेको र यसलाई जोगाउने र बिक्री वितरण गर्ने मापदण्ड बनाउनुपर्ने बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *