एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । दुई दिनसम्म चलेको पार्टीको चौथो बैठक विभिन्न निर्णय गर्दै समापन भएको हो । बैठकले आगामी मंसिर–४ मा हुने निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको छ ।

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिनुभयो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो,’ बैठकपछि उहाँले भन्नुभयो । बैठकले उम्मेदवार छनोटका लागि पाँच ओटा योग्यता तोकेको छ ।

‘पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,’ ‘समानुपातिक तथा कुनै पनि प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी उक्त अवसर प्राप्त गरेका पार्टीका नेता, कार्यकता वा शुभेच्छुकलाई दोहोर्याउनु हुन्न ।’