कांग्रेस नेता गिरिलाई आफ्नै गृहनगरमा सम्झँदै
सिरहा : नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३ औं पुण्य तिथिको अवसरमा उहाँको गृहनगर वस्तीपुरमा श्रद्धाञ्जलि सभा आयोजना गरिँदै छ । उहाँको गृहनगर लहान नगरपालिका–१४ वस्तीपुरमा आज विहीवार दिउँसो उक्त कार्यक्रम हुँदैछ ।
नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवका अनुसार सिरहा क्षेत्र नं. १ बाट निर्वाचित स्वर्गिय गिरिले निर्माण गरेको आश्रममा दिउँसो हुने उक्त श्रद्धाञ्जली कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा समाजसेवी लगायतको सहभागिता रहने जनाएको छ ।
स्वर्गिय गिरिको दाहसंस्कार वस्तीपुरमा गर्न नसकिए पनि उनको १३ औं दिनको पुण्यतिथिमा अस्थिलाई आश्रममा सेलाइने बताइएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।
