बाराको भुलहीमा प्रहरी र डाँका समुहबीच दोहोरो भिडन्त

बाराः बाराको भुलहीमा प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको छ । भलुही स्थित एरोटेक प्रा.ली.को ग्यास सिलिन्डर कम्पनीमा प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको प्रहरीले जनाएकाे छ ।

शनिबार मध्यराती भएको भिडन्तमा वरिष्ठ प्रहरी नायब निरिक्षक कलाम शाही घाइते भएका छन् भने डाँका समुहका १ जना घाइते भएका छन् ।

आक्रमणको क्रममा डाँकाले प्रहार गरेको रड टाउकोमा लागेर शाही घाइते भएका थिए । शाहीको विरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको र खतरा मुक्त अवस्था रहेको छ साथै डाँका समुहका १ घाइतेको अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले भिडन्तमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा बस्ने जयराम पासवान र वडा नं.१० बलुवा बेहरा बस्ने जवाहिर महतोलाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थान बरामद गरेको छ।