भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा, चिनियाँ नेता ली झान्शु भदौ २७ मा नेपाल आउँदै

चिनियाँ नेता ली झान्शु

काठमाडौँ । नेपालमा संघीय र प्रदेश तहको निर्वाचनको सरगर्मी बढिरहेका बेला नेपालका दुई छिमेकी मुलुक चीन र भारतका विशिष्ठ व्यक्तिहरुको नेपाल भ्रमणमा चासो व्यक्त गर्न थालेका छन् ।

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शु यहि भदौ २७ देखि ३० गतेसम्म नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । झान्शु आउने कार्यतालिका सार्वजनिक हुँदै गर्दा प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज नेपाल आइपुग्नुभएको छ ।

निर्वाचनको सम्मुखमा उहाँहरु दुबैको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सभामुख सापकोटाको निम्तोमा नेपाल आउन लाग्नु भएको लीले सभामुखसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी सोही दिन उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी दक्षिणी छिमेकी भारतका सेनाध्यक्ष जनरल मनोज पाण्डे प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आजै नेपालको पाँच दिवसीय भ्रमणका लागि आजै नेपाल आइपुग्नुभएको छ ।

आजै नेपाल आउनु भएका सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । भारतीय सेनापति र प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाविच पनि भेटघाटको कार्यक्रम रहेको छ ।