एमालेका १९ पदाधिकारी को–कहाँबाट सिफारिस, जितको सम्भावना कस्को–कति ?

काठमाडौँ । संघ र प्रदेशको निर्वाचन आगामी मंसिर–४ का लागि घोषणा भएसँगै मुलुकभरी नै चुनावी चहलपहल व्यापक बन्न थालेको छ । सबै राजनीतिक दलबाट अहिले उम्मेदवार सिफारिस हुने र चुनावी मैदानमा आफूलाई केन्द्रित गर्ने लहर पनि ह्वात्तै बढेको छ । उम्मेदवारका आकांक्षीहरु अहिले जनतासँग नजिक हुने र चुनाव लक्षित गतिविधिमा आफूलाई केन्द्रित गर्ने कार्यलाई बाक्लो बनाउन थालेका छन् ।

अहिलेसम्मको अवस्थालाई हेर्दा मुलुकभरी नै काँग्रेस, माओवादीलगायतको गठबन्धनसँग नेकपा (एमाले) एक्लै प्रतिस्पर्धा गर्दैछ । यस कारण पनि एमालेले कस्ता उम्मेदवार छनोट गर्ला र चुनावी मैदानमा होमिन्छ भन्ने उत्सुकता बढेको छ । १० औँ महानधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै अहिले एमालेमा १९ जनाको पदाधिकारी छ । १९ मध्ये २०७४ सालको निर्वाचनमा संघ, प्रदेश र राष्ट्रियसभाबाट उपमहासचिव विष्णु रिमाल बाहेक सबै माननीय बन्नुभएको थियो ।

महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वी शुब्बा गुरुङ प्रदेश सांसद बनेर आ–आफ्नो प्रदेशबाट संस्थापक मुख्यमन्त्री बनिसक्नु भएको छ । त्यस्तै उपाध्यक्ष अष्ठलक्ष्मी शाक्य छोटो समय भए पनि मुख्यमन्त्रीको जिम्मेवारीमा रहनुभयो । उहाँ पनि बागमती प्रदेशबाट प्रदेश सांसद बन्नुभएको थियो । अर्का उपाध्यक्ष युवाराज ज्ञवाली भने राष्ट्रियसभा सदस्य बन्नुभएको थियो । यसरी हेर्दा अहिलेको १९ जनाको पदाधिकारीमा १८ जना राष्ट्रियसभा, संघ र प्रदेशको माननीय बन्नुभएको थियो ।

आगामी मंसिर ४ गते हिुने निर्वाचनका लागि अहिले पनि १९ मध्ये लगभग सबै चुनावी मैदानमा उत्रिने सम्भावना देखिएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएको पार्टी अध्यक्ष केपी शर्मा ओली यो पटक झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने निश्चित छ ।

उहाँले अघिल्लो निर्वाचनमा यहि क्षेत्रबाट ५७ हजार १ सय ३९ मतसहित विजयी हात पार्दा काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत मात्रै पाउनु भएको थियो । त्यसैगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट एकल सिफारिसमा पर्नुभएको छ । उहाँ अघिल्लो निर्वाचनमा यहि क्षेत्रबाट २३ हजार २९ मत ल्याएर विजयी हुँदा काँग्रेसका प्रकाशसरण महतले १३१६९ मतमा चित्त बुझाउनु परेको थियो ।

अर्का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पनि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ । उहाँले अघिल्लो निर्वाचनमा ४४ हजार ९ मतसहित विजयी हुनुभएको थियो । काँग्रेसका युवराज गिरीले सो क्षेत्रबाट २१ हजार ९ सय ४६ मत मात्रै ल्याउनु भएको थियो । पौडेललाई एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले सर्वसम्मत सिफारिस गरेको हो ।

त्यस्तै अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन क्षेत्र नंं १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । उहाँसँगै केन्द्रीय सदस्य जगन्नाथ थपलियाको पनि नाम सिफारिस भएको छ । पाण्डे अघिल्लो निर्वाचनमा यहि क्षेत्रबाट ५१ हजार ८० मतसहित विजयी हुनुभएको थियो । यो क्षेत्रमा काँग्रेसका राजेन्द्र प्रसाद वुर्लाकोटीले ३५ हजार ३ सय ६० मत मात्रै ल्याउनु भएको थियो । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य यो पटक भने कतैबाट सिफारिसमा पर्नुभएको छैन ।

उहाँ समानुपातिकमा बस्ने भएकाले कतै सिफारिसमा नपर्नुभएको बुझिएको छ । अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि यो पटक प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट सिफारिस हुनुभएको छ । उहाँसँगै केन्द्रीय सदस्यद्वय घनश्याम पाण्डे र कोमलवलीको नाम पनि सिफारिस भएको छ । ज्ञवाली अघिल्लो पटक राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । त्यस्तै अघिल्लो पटक राष्ट्रियसभा सदस्य नै रहेका बेला अध्यक्ष ओली प्रधानमन्त्री हुँदा गृहमन्त्रीको जिम्मेवारीमा रहनु भएका रामबहादुर थापा बादल यो पटक चिवतनबाट उम्मेदवार बन्ने बुझिएको छ ।

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ अहिले एमाले उपाध्यक्ष हुनुहुन्छ । उहाँ अघिल्लो पटक ३६ हजार ५ सय १७ मतसहित इलामा क्षेत्र नम्बर–२ बाट विजयी हुनुभएको थियो । त्यहि क्षेत्रबाट काँग्रेसका केशव थापाले २६ हजार ८ सय ६५ मत प्राप्त गर्नुभएको थियो ।

अघिल्लो पटक भारी मतसहित प्रदेश सांसदमा विजयी हुनुभएका महासचिव शंकर पोखरेल यो पटक दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस हुनुभएको छ । दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

गुल्मीबाट एमालेमा दुई पदाधिकारी हुनुहुन्छ, प्रदीप ज्ञवाली उपमहासचिव र गोकर्ण विष्ट सचिव । यो पटक गुल्मी क्षेत्र नम्बर–१ मा ज्ञवाली एकल सिफारिसमा पर्नुभएको छ । क्षेत्र नम्बर– २ बाट गोकर्ण विष्टसहित तीन जनाको सिफारिस भएको छ ।

यी दुबै क्षेत्रमा अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो । यी दुई क्षेत्रबाट ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याउनु भएको थियो । त्यहि क्षेत्रबाट काँग्रेसका चन्द्र भण्डारीले ३० हजार २ सय ५६ मत ल्याउनु भएको थियो । विष्टले ३४ हजार ६ सय १८ मत ल्याउँदा काँग्रेसका चन्द्रबहादुर केसीले २० हजार १ सय ५७ मत ल्याउनु भएको थियो । नेकपा एमालेका उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशसभा सदस्यमै उम्मेदवार बन्ने हुनु भएको छ । उहाँ गण्डकीको सफल मुख्यमन्त्रीका रुपमा स्थापित हुनुहुन्छ । यो पटक पनि उहाँले मुख्यमन्त्रीकै दाबी गर्दै प्रदेशसभामा बस्ने चाहना राख्नुभएको हो । शनिवार सम्पन्न एमाले लमजुङको बैठकले पार्टी उपमहासचिव गुरुङलाई जिल्लाको २ नम्बर प्रदेश क्षेत्रबाट उम्मेदवारमा सिफारिस गरेको छ ।

यो पटक पनि रिमाल भने कुनै पनि क्षेत्रबाट उम्मेदवार बन्ने देखिएको छैन । एमालेले मंसिरमा हुने आमनिर्वाचनका लागि ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको समितिमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय आयोगका पदाधिकारीहरू, विभागका सचिव, जनसंगठनको अध्यक्ष र महासचिव सदस्य रहेका छन् । त्यस समितिको उहाँ सचिव हुनुहुन्छ । समिति अन्तर्गत सचिवालयमा केन्द्रीय पदाधिकारी, निर्वाचन विभाग, कानुन विभाग र प्रचार विभागका उपप्रमुख र सचिव तथा केन्द्रीय कार्यालयका सचिव सदस्य रहने छन् । त्यति महत्वपूर्ण समितिको सचिव रहेर उहाँले निर्वाचनको कमाण्ड सम्हाल्ने गरी जिम्मेवारी तोकिएकाले पनि उहाँ अहिलेसम्मको अवस्थामा कतैबाट प्रत्यक्ष चुनाव लड्ने देखिएको छैन ।

सात सचिव मध्ये छविलाल विश्वकर्मा यो पटक पनि रुपन्देहीबाटै चिर्वाचन लड्ने बुझिएको छ । अघिल्लो पटक उहाँ रुपन्देही क्षेत्र नम्बर–१ बाट ३४ हजार ७ सय ५२ मतसहित विजयी हुनुभएको थियो । त्यस्तै योगेश भट्टराई अघिल्लो निर्वाचनमा एक क्षेत्र मात्रै रहेको ताप्लेजुङबाट निर्वाचित हुनुभएको थियो । उहाँले अघिल्लो निर्वाचनमा २९ हजार ४ सय ७९ मत ल्याउँदा काँग्रेसका केशव प्रसाद दाहालले १६ हजार ८ सय ८८ मत ल्याउनु भएको थियो । ताप्लेजुङमा उम्मेदवार सिफारिसका लागि भोलि बैठक बस्दैछ । उहाँको सो क्षेत्रबाट नाम सिफारिस हुने निश्चित छ । अर्का सचिव रघुवीर महासेठ धनुषाबाट सिफारिस हुनुभएको छ ।

०७४ मा धनुषा क्षेत्र नम्बर–४ बाट २२ हजार ५ सय ३२ मत ल्याएर विजयी हुनुभएको थियो । सोही क्षेत्रबाट काँग्रेसका महेन्द्र यादवले १९ हजार ९ सय ९१ मत ल्याउनु भएको थियो ।

अर्का सचिव लेखराज भट्ट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत एकल सिफारिस हुनु भएको छ । उहाँ अघिल्लो पटक पनि यहि क्षेत्रबाट ३१ हजार ५ सय ५९ मतसहित विजयी हुनुभएको थियो । एकमात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट यो पटक एमालेबाट सचिव टोपबहादुर रायमाझी सिफारिस हुने निश्चित छ । अघिल्लो पटक उहाँ यहिबाट सांसद बन्नुभएको थियो ।

उहाँले अघिल्लो पटक ५० हजार ८ सय ३७ मत ल्याउनु भएको थियो । त्यहाँबाट काँग्रेसका रामकुमार विसीले ३२ हजार ५ सय ४४ मत मात्रै ल्याउनु भएको थियो । अघिल्लो निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर–२ बाट विजयी सचिव पद्मा कुमारी अर्याल पटक–पटक मन्त्री बन्नुभएको छ । यो पटक पनि उहाँ त्यहि क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित छ । उहाँले अघिल्लो पटक ३५ हजार १ सय ४२ मत ल्याएर विजयी हुनुभएको थियो ।

त्यस्तै एमालेले रुपन्देही क्षेत्र नम्बर–३ बाट स्थायी कमिटी सदस्य घनश्याम भुसालसहित ४ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । यो क्षेत्रबाट अघिल्लो पटक भुसाल नै विजयी हुनुभएको थियो । त्यस्तै अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट डा. भीम रावलको नाम एकल सिफारिस भएको छ ।अघिल्लो पटक पनि उहाँ नै यो क्षेत्रबाट सिफारिस हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *