०७४ को निर्वाचनमा दोबर मतले विजयी एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट सर्वसम्मत सिफारिस

झापा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । ६ लाख ४६ हजार २ सय ३४ मतदाता रहेको झापा जिल्लाका पाँच निर्वाचन क्षेत्रमा अहिले १५ वटा पालिका रहेका छन् ।

२०७४ सालको संघीय निर्वाचनको तथ्याङ्कलाई हेर्ने हो भने पाँच मध्ये चार ओटा निर्वाचन क्षेत्रमा बामपन्थी दल विजयी भएका थिए भने एक क्षेत्रमा राप्रपाका राजेन्द्र लिङ्देल एमालेसहितको समर्थनमा विजयी हुनुभएको थियो । नेकपा विभाजनपछि क्षेत्र नम्बर–१ बाट विजयी सुरेन्द्रकुमार कार्की भने अहिले नेकपा माओवादीमा हुनुहुन्छ । झापा क्षेत्र नम्बर–५ पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गृह क्षेत्र हो ।

उहाँले अघिल्लो निर्वाचनमा ५७ हजार १ सय ३९ मतसहित विजयी हात पार्दा काँग्रेसका खगेन्द्र अधिकारीले जम्मा २८ हजार २ सय ९७ मत मात्रै पाउनु भएको थियो । पछिल्लो समय ओली झापा र अझ त्यसमा पनि निर्वाचन क्षेत्रमा बाक्लै आउजाउ गर्न थाल्नु भएको छ । उहाँ त्यहाँका मतदातासँग खुलेर छलफलमा केन्द्रित हुनुले पनि उहाँको पक्षमा माहोल बढेको अपेक्षा गरिएको छ । हेवीवेट नेतालाई त्यहाँका मतदाताले गुमाउन नचाहने भएका कारण पनि ओलीको जित निश्चित जस्तै छ ।

उहाँले गृह जिल्ला र अझ त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रलाई बढी प्राथमिकतामा राखेका पछिल्लो समय लगातार गरेका भ्रमणले पनि उहाँ पूर्ण तयारीसहित चुनावी अभियानमा हुनुहुन्छ भन्ने कुरा नकार्न मिल्दैन

उहाँले गृह जिल्ला र अझ त्यसमा पनि आफ्नो निर्वाचन क्षेत्रलाई बढी प्राथमिकतामा राखेका पछिल्लो समय लगातार गरेका भ्रमणले पनि उहाँ पूर्ण तयारीसहित चुनावी अभियानमा हुनुहुन्छ भन्ने कुरा नकार्न मिल्दैन । पछिल्लो दुई महिनामामा मात्रै अध्यक्ष ओलीले गृहजिल्लाका तीन भ्रमण गर्नुभएको छ । त्यसबाट पनि ओलीले दिन खोजेको सन्देश के हो भन्ने सहज अनुमान गर्न सकिन्छ । त्यसो त झापाली जनता पनि यो पटक ओलीलाई झापाबाट विजयी बनाउने मात्रै होइन त्यहिको माटोमा हुर्किनु भएका ओलीलाई तेस्रो पटक प्रधानमन्त्री भएको देख्न चाहन्छन् ।

‘जन्मथलो तेह्रथुम भए पनि ओलीका जीवनका कठिन अवस्थादेखि देशको प्रधानमन्त्री हुँदासम्मका दिनहरुमा झापाली जनताले निकै ठूलो गुण लगाएका छन्,’ झापाकै एक पार्टी नेता भन्नुहुन्छ, ‘त्यसकारण पनि ओली त्यो गुण तिर्न चाहनुहुन्छ । पछिल्लो समय उहाँले झापा र झापाली जनताको विकास र समृद्धिको आकाक्षांलाई मूर्तरुप प्रदान गर्ने कुरामा ठूलो योगदान गर्दै आउनु भएको छ । हामी अझै एक पटक यहिँको माटोबाट विजयी बनाएर उहाँलाई देशको नेतृत्व गर्ने तहमा पुगेको हेर्न चाहन्छौँ ।’

उहाँका ती भनाई र ओलीको झापा मोह मेलखाने खालकै देखिएको छ । यो क्षेत्रमा यो पटक गठबन्धनबाट माओवादीले दाबी गर्ने संभावना बढी छ । त्यस्तै क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको छ । चारबाट एलपी साँवा लिम्बूको नाम सिफारिस भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *